काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेजले संगीतबाट सन्यास लिन लागेको र आगामी एल्बम अन्तिम हुनसक्ने संकेत गरेकी छन् । इन्डिपेन्डेन्ट पडकास्ट कुराकानीमा ३१ वर्षीया गायिकाले अभिनय करिअरमा ध्यान केन्द्रित गर्न चाहेको बताएकी छन् ।

पप गायिकाको रूपमा सफलता हासिल गर्नुअघि र ‘ह्यान्ड्स टु माइसेल्फ’, ‘रेयर’ र ‘ब्याड लायर’जस्ता गीत रिलिज गर्नुअघि सेलेनाको पहिचान डिज्नी च्यानल स्टारको रुपमा थियो । सन् २०२० मा उनले आफ्नो पाक–कार्यक्रम ‘सेलेना प्लस सेफ’ समेत ल्याएकी थिइन् ।

अर्को वर्ष उनले हुलुमा रिलिज भएको कमेडी मिस्ट्री ‘ओन्ली मर्डर्स इन द बिल्डिंग’मा अभिनयका लागि प्रशंसा बटुलिन् । जहाँ उनले स्टीव मार्टिन र मार्टिन शर्टसँग स्क्रिन सेयर गरिन् ।

पडकास्टमा सेलेना भन्छिन्, ‘मैले संगीतसँग धेरै रमाइलो गर्न थालें र त्यसपछि संगीतको टुर साँच्चै रमाइलो थियो । तर मैले मेरो टिभी कार्यक्रम (विजार्ड अफ वेभर्ली प्लेस) पनि सोही समयमा गरिरहेकी थिएँ र मलाई यो साँच्चै रमाइलो लाग्यो, त्यसैले म बसिरहें ।’

उनी भन्छिन्, ‘जब म ठूली हुँदै गएँ, सेटल हुनका लागि केही कुरा खोज्नुपर्छ भन्नेमा सचेत हुन थालें । मसँग अझै एउटा एल्बम छ जस्तो लाग्छ तर अभिनय नै रोज्छु,’ उनले भनिन् । जब पोडकास्ट होस्ट गोमेजको सांगीतिक क्षमताको प्रशंसा गरे र उनका लागि संगीत नै योग्य रहेको बताए । जवाफमा सेलेनाले भनिन्, ‘तिमी सही छौ, तर म थकित छु किनभने म आराम गर्न चाहन्छु ।’

एमी अवार्ड मनोनित गायिकाले आफ्ना लागि संगीत संयोग मात्र भएको बताएकी छन् । विजार्डका लागि थिम–सङ पूरा गरेपछि डिज्नी स्टुडियोका कार्यकारीले एल्बम सिर्जना गर्न चाहनुहुन्छ भनेर आफूलाई सोधेको खुलासा उनले गरिन् ।

सोही अन्तर्वार्तामा उनले कामको बोझले सानै उमेरमा मानसिक स्वास्थ्यमा पर्ने असरबारे पनि कुरा गरिन् । उनी सन् २०१६ मा मानसिक समस्यासँग संघर्ष गरिरहेकी थिइन् । यसको नतिजास्वरुप उनले सांगीतिक टुर नै रोक्नुपर्ने निर्णय लिनुपर्‍यो ।

सेलेना अहिले निर्माता बेनी ब्लान्कोसँग डेट गरिरहेकी छिन् । सम्बन्धको पुष्टि गर्दै उनले भनिन्, ‘उनी मसँग भएको सबैभन्दा राम्रो कुरा हुन् ।’