नयाँ दिल्ली । बलिउड स्टारहरू शाहरुख खान र सनी देओलबीच लामो समयसम्म सम्बन्ध राम्रो भएन । तर यो वर्षले दुईबिचको तिक्तता मेटाउँदै सम्बन्धमा सुधार ल्याइदियो । यो वर्षको सुरुमा गदर २ रिलिज हुँदा सारा बलिउड फिल्म रिलिजको उत्सव मनाउन आएको थियो । 

यसमा शाहरुख खान पनि सामेल थिए । हालै एउटा अन्तरवार्तामा सनीले शाहरुखसँगको लामो समयदेखिको मतभेद अन्त्य भएको भनेर कुराकानी गरेका छन् । सबै जना विगतलाई भुलेर अगाडि बढिसकेको अनि सबै खुसी र सन्तुष्ट रहेको उनको भनाई थियो ।

हिन्दुस्तान टाइम्सलाई दिएको एउटा अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । ‘हरेक व्यक्ति आ–आफ्नो जीवनमा अगाडि बढिसकेका छन् अनि मानसिक रूपमा खुसी पनि छन् । जे जति छ, त्यसमै उनी सुरक्षित छन् । जब उनी साना थिए यस्तो थिएन । अब हरेक व्यक्ति खुसी र सन्तुष्ट छ । हामी सबैलाई थाहा छ कि हामीले के गलत वा सही गर्‍यौँ। समय हिलर अर्थात् औषधि हो । विवादलाई विगतै छाडिदिनु राम्रो हुन्छ । मेरो पार्टीमा सबै आएको देखेर म एकदम खुसी थिए,’ सनीले भनेका छन् । फोटोमा शाहरुख र सनी एक अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ ।

सनी र शाहरुखबीच सन् १९९३ मा डर फिल्मको शुटिङको बेलामा मतभेद शुरु भएको थियो । फिल्ममा सनी लिड रोलमा थिए भने शाहरुख खलपात्र बनेका थिए । यसबाट उनी खुसी खुसी थिएनन् । डलर रिलिज भएपछि १६ वर्षसम्म दुवैले एक अर्कासँग कुरा गरेनन् । अल्लारे उमेरमा असमझदारी भएको अनि उमेर बित्दै गर्दा परिपक्व भएर स्थितिलाई बुझ्न लागेको उनको भनाइ छ । हामी सबैमा धेरै परिवर्तन आएको छ ।

सनीले यो वर्षको सुरुमा शानदार कमब्याक गरे । गदर २ ले बक्स अफिसमा ६०० करोडभन्दा धेरैको कमाई गर्‍यो । सनीले पनि अभिनयबाट सबैको वाहवाही बटुले । उनको सफलताप्रति फिल्म उद्योगमा शाहरुख समेत सबै खुसी थिए । सनी नितेश तिवारीको रामायणमा देखिन सक्नेछन् । फिल्ममा उनलाई हनुमानको भूमिकामा खेलाउन निर्माताहरुले कुराकानी गरिरहेको बताइएको छ । तर यसको आधिकारिक पुष्टि भइसकेको छैन ।