इटहरी। मासु होस् वा अन्य तरकारी प्याज हालेर पकाउँदाको स्वादै बेग्लै । प्याज नहाली तरकारी नपकाउने बानी परेकाहरु यतिबेला साँच्चै समस्यामा छन् । प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा पाइरहेको प्याजको मूल्य दुई महिनायता बढेर १२० रुपैयाँ पुगेको छ । त्यसको मारमा प्याज मिसाएर तरकारीको मिठास लिन सिपालु गृहिणीहरु बढी परेका छन् । मूल्य वृद्धिको मार भने सबै उपभोक्ताहरुले समान रुपमा लिइरहेका छन् ।


प्याजको महंगिएपछि बजारमा प्याज किन्नेहरुले परिणाम घटाइरहेका छन् । घरमा खपत पनि क्रमश घटाउँदै गएका छन् । विराटनगरको गुद्री बजारमा तरकारी किन्न पुगेकी पार्वती मल्लिकले बिहीबार आधा किलो मात्र प्याज किनिन् । प्याज नहाली तरकारी नबनाउने उनी अहिले थोरै प्याज हालेर काम चलाउन थालेकी छन् । ‘म यति थोरै प्याज किन्दिन थें तर मूल्य बढेर किनिसक्नु भएन त्यसैले थोरै किनेर काम चलाइरहेको छु ।’ दसैंसम्म प्याजको भाउ ठिकै भएपनि त्यसपछि आम सर्वसाधारणले उपभोग गर्न सक्ने अवस्था भन्दा मूल्य बाहिर पुगेको उनको अनुभव छ ।गुद्रीमै भेटिएकी विद्यार्थी सुस्मिता यादवले बिहीबार प्याज किनिनन् । प्याज किन्ने पैसाले चार छाक तरकारी खान पुग्ने भएकोले उनी तरकारीमा प्याज प्रयोग नगर्ने सोचमा पुगिन् । यादव भन्छिन् , ‘अहिले बजारमा तरकारीको मूल्य सस्तिएको छ । अरु तरकारीको मूल्य घट्दा प्याज किनिसक्नु छैन, प्याज किन्नु र सुन किन्नु हामी विद्यार्थीका लागि उस्तै भएको छ त्यसैले मैले प्याज प्रयोग गर्नु भन्दा अरु तरकारीमै जोड दिएको छु ।’


एकातिर आर्थिक मन्दी र अर्कोतिर दैनिक उपभोग्य वस्तु मूल्यवृद्धिको असरले समस्या पारिरहेको विराटनगरकी सिता भट्टराईले बताइन् ।नेपाल सरकारले प्याज उत्पादनमा आत्मनिर्भर बन्ने भन्दै आयातमा कडाइ गरेको छ । प्याज बिक्रीमा नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । जसले गर्दा नेपालमा प्याज महंगिएको हो । भारत सरकारले पनि प्याज निर्यातमा कडाइ गरेको जसले गर्दा प्याजको मूल्य बढ्दै गएको छ ।अहिले भारतबाट प्याजको आयत कम भएको र भन्सार कर वृद्धी भएको कारण प्याज विराटनगर बजारमा ल्याएर बेच्ने अवस्था घटेको थोक व्यापारी रञ्जित गुप्ताले जानकारी दिए । नेपालकै अन्य स्थानहरुबाट प्याज किनमेल गरी विराटनगर बजारमा बेच्ने गरेको उनले बताए ।