भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि आगामी २०८१ बैशाख १ गतेदेखि बैशाख ३ गतेसम्म महोत्सवको आयोजना हुने भएको छ ।

स्थानीय कृषिका उत्पादन, पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा कला संस्कृतिको प्रवर्द्धनका लागि आगामी २०८१ बैशाख १ गतेदेखि बैशाख ३ गतेसम्म चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्के मैयुङ गाउँपालिकाको प्रायोजनमा तीन दिने महोत्सव हुन लागेको आयोजक संस्थाका अध्यक्ष आइ कुमार राईले बताउनुभयो । महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारहरुहरुको स्टल पनि राखिने भएको छ ।

सरकारको एक सय वटा पर्यटकीय गन्तब्य सुचीमा रहेको मुन्दुम पदमार्गसँगै रहेको चखेवा भञ्ज्याङ भोजपुर र खोटाङमा सिमानामा रहेको मनोरमणीय स्थान हो । गाउँपालिकाको आयोजना सन् २०२५ लाई मुन्दुम पर्यटकीय बर्षकारुपमा मनाउन लागिएकाले सो को प्रचार प्रसारका लागिसमेत यो महोत्सव फलदायी हुने आयोजक संस्थाका अध्यक्ष राईको भनाई रहेको छ ।

महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्रसमेत प्रदर्शनी गरिने छ भने स्थानीय अर्गानिक खाद्य उत्सादनका बिभिन्न परिकारहरुको स्वादसमेत लिन सकिने आयोजक संस्थाका बिवेक कुलुङले जानकारी दिनुभयो । गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिव १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । करिव ५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिहरु रहने छ । सो क्रममा स्थानीय कविहरु ज्ञानमणी नेपाल, गणेश रसिक, बुलु मुकारुङ, बसन्त मुकारुङ, श्रवण मुकारुङ, सुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायतको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

यस्तै महोत्सवमा कलाकारहरु दयाहाङ राई, भिषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्दकला राई, उमेश राई (फुलन्देकी आमा) लगायतको सहभागिता रहने छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटकीय संभावना बोकेको क्षेत्रहरुको बिकास र प्रचार प्रसारका लागि प्रत्येक बर्ष यस्ता महोत्सवहरुको आयोजना गरिदै लगिने बताउनुभयो । पालिका भित्र पर्यटकीय गन्तब्य बोकेका धेरै स्थलहरु रहेको बताउँदै अध्यक्ष बस्नेतले आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धनमा आफुहरु लागि परेको बताउनुभयो ।