इटहरी । मोरङको ग्रामथानमा माछा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए ।

ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी १० वर्षीया छोरी रेजिना खवासको डुबेर मृत्यु भएको बताइएको छ ।

पानीमा डुबेर गम्भीर स्वास्थ्य अवस्था भएका बालिकाहरुलाई बिहान साढे ११ बजे स्थानीयले फेला पारेर उपचार गराउन विराटनगरको कोशी अस्पताल लगेका थिए । उनीहरूको अस्पताल ल्याउना साथ मृत्यु भएको थियो ।