केराबारी/ मोरङ्गको केराबारीमा मंगलबार शुरु भएको ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको दोश्रो दिन आज गायक एसकुमारको प्रस्तुती रहने भएको छ। बुधबार साँझ हुने कार्यक्रममा गायक एसकुमारले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका हुन्।

एसकुमारले ‘म कहिले हाँसेको थिए तिमी टाडा हुँदा’,‘नआउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन’,‘हिजो अर्कैसँग देखेँ’,‘जानी जानी आईन तिम्रो खुसीको क्षणमा मेरी मायालु’,‘पुरानो गाउँ क्या राम्रो ठाउँ’ जस्ता चर्चित गित पस्कने छन्।

यस्तै दिउसोको कार्यक्रममा बिभिन्न टोलीहरुको भजन किर्तन रहने तथा भलिबल प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम छ। भलिबलको उद्घाटन खेल केराबारी ८को टोली र भोगटेनीको टोली बीच अपरान्ह तीनबजे शुरु हुने चेम्जोङ्गले जानकारी दिनुभयो।

नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण बर्ष २०२०लाई लक्षित गर्दै मंगलबार शुरु भएको मच्छिन्द्रनाथ मेला पौष २१ गतेसम्म साँस्कृतिक झाँकिसहित सञ्चालन हुने र हरेक साँझ बिभिन्न कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम रहेको मेला आयोजक समितिका बिमल चेम्जोङ्गले जानकारी दिनुभएको छ।

मेलामा केराबारी क्षेत्रमा उत्पादित सामाग्रीहरुको बिक्री, प्रदर्शन एवं प्रवर्धनका अतिरिक्त लोप हुन लागेका बिभिन्न संस्कृतिहरुको जगेर्ना गरिने जनाईएको छ। बिभिन्न आदिवासी जनजातीको वाहुल्यता रहेको केराबारीमा जनजातीहरुको पहिचान बचाईराख्न र संस्कृतिहरुको प्रवर्धन गर्न मेलालाई यो बर्ष पनि निरन्तरता दिईएको मेला ब्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर लिम्बुको भनाई छ।

केराबारी ८ स्थित मच्छिन्द्र खेल मैदानमा जारी मेलामा ८० भन्दा बढी स्टलहरु रहेको र मेला अवधीमा २० देखि २५ लाख सम्म खर्च हुने जनाइएको छ।