काठमाण्डौ / राष्ट्रकवि माधव घिमिरेलाई वि.सं. २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ। मदन शिला प्रतिष्ठानद्वारा स्थापित एक लाख एक हजार रुपैयाँको पुरस्कार राशि सहित सम्मानपत्र अर्पण गरिएको हो।

त्यस अवसरमा साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गर्दैै राष्ट्रकवि घिमिरेले सरकारले आफू बिरामी पर्दा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइ दिएकोमा धन्यवाद दिनुभयो।

उहाँले भन्नुभयो “मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरुपमा पुरस्कृत गरिराखेको छ। कर्म गर्न छाड्न हुँदैन।” यसैगरी प्रतिष्ठानले त्यही वर्षको ५० हजार रुपैयाँ पुरस्कारको राशि रहेको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकालाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको छ।

दार्जीलिङको मुखपत्रका रुपमा त्रैमासिक रुपमा प्रकाशन हुँदै आएको दियालोका प्रधान सम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जीलिङका अध्यक्ष डाक्टर चन्द्रकुमार राई उन्नयन पत्रिकाका प्रधान सम्पादक च्युतरमण अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए।

नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण बाँकी रहेको बताउँदै प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।