काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर प्रमुख भुमिकामा रहने फिल्म ‘घरज्वाईं’ को प्रचारप्रसार सुरु गरिएको छ । 

फिल्म यहि असार २८ गतेबाट देशव्यापी रुपमा सार्वजनिक प्रदर्शन हुँदैछ । फिल्मको पहिलो प्रचारप्रसार अन्तर्गत असार १ गते शनिबार टुँडिखेलमा मगरहरुको महान पर्व भूमेको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा फिल्म युनिट सहभागी भएको थियो । जहाँ अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।

सो कार्यक्रममा फिल्मको बारेमा दयाहाङ राई र मिरुना मगरले बोलेका थिए । अभिनेत्री मिरुनाले आफु सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको बताईन् । तर फिल्म घरज्वाईंले सो अवसर जुराएको उनको तर्क छ । आफू पुर्वेली मगर भएकाले पश्चिमेली मगरको संस्कार र संस्कृतिको बारेमा बुझ्ने इच्छालाई पूरा गर्दिएकोमा फिल्मका निर्माता जनक घर्तीमगर र निर्देशक अनिल बुढामगरलाई धन्यवाद समेत व्यक्त गरिन् ।

यस्तै फिल्मका अर्का प्रमुख अभिनेता दयाहाङ राईले पुर्वी रुकुमको एक मगर युवाको जीवन सिनेमाको पर्दामा भएपनी बन्न पाएकोमा खुशी व्यक्त गरे । आफू भोजपुरे राईको छोरा भएपनी नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी रहेको उनको भनाई छ ।

यस्तै निर्देशक अनिल र निर्माता जनक घर्ती मगर फिल्मले दर्शकको मन जित्नेमा आशावादी छन् । मिरुना मगर र दयाहाङ राईलाई लिएर फिल्म बनाउले लहरमा होमिएका जनक र अनिलले फिल्मलाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताउछन् ।

पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मलाई जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । फिल्म ‘घरज्वाईं’को कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।