भोजपुर । अरुण गाउँपालिका–४ चरम्बीले आव २०८०÷०८१ को वार्षिक समिक्षा तथा टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । वडाले चालु आवमा गरेका टोलको विकास, परिवर्तन, आवश्यकता तथा स्थानीयहरूको सुझाव सल्लाह गर्नका लागी टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी आयोजना र वडाको सार्वजनिक सुनुवाइको रुपमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको वडा सचिव रञ्जित चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म वडाले चालु, पुँजीगत, विषयगत खर्च, अनुदान लगायत कार्यक्रमहरूको ९० प्रतिशत कार्य सम्पन्न भएको छ भने बाकी १० प्रतिशतको काम पनि अन्तिम चरणमा पुगेको छ ।

वडाध्यक्ष जङ्ग बहादुर राईलेटोल विकास समिति, राजनैतीक दल, स्थानीय वुद्धिजिवि, स्थानीय नागरीकहरुले टोलको विकासका लागी भएका कार्यक्रम, योजना, बजेट तथा नीति नियम निमार्ण तथा कार्यान्व्यनको अवस्थाको बारेमा गरेका प्रश्नहरुको जवाफ दिदै स्थानीय तहको निर्वाचन पश्चात् गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधारहरुको तुलनात्मक विकास भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, आव २०८०÷०८१ मा वडाले ३२ वटा योजना सञ्चालन गरेको थियो, सबै योजनाको कार्य सम्पन्न हुने अन्तिम चरणमा रहेको छ, यसले वडाको प्रगति उत्कृष्ट रहेको जनाउँदछ । 

कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले पालिकाले स्थानीयहरूको माग, आवश्यकता अनुसार छनौट भएका योजनाहरू वडा तथा पालिकाबाट सम्बोधन हुनुका साथै कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकासँग भएको सीमित श्रोत साधनमा स्थानीयहरूको असीमित मागहरु पुरा गर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्दै आएका छौँ ।”पालिकाले सबै वडामा बाह्रैमास सञ्चालन हुने कृषि सडक, खानेपानी, स्वास्थ्य र शिक्षामा गुणस्तरीयता, सिँचाई लगायत कृषिमा आत्मनिर्भर हुन गुरुयोजना सहित आफूहरू लागी परेको समेत गाउँपालिका अध्यक्ष खत्रीले बताउनुभयो । 

स्थानीय सिता पाण्डे, सुवास चौलागाई,रण ब भुजेल, अशोक तामाङ, दिपेन्द्र घिमिरे, तिर्थराज चापागाई,कुशल राई र खम्बासिंह भुजेल, राजतैतीक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय लगायतले वडाको भौतीक संरचना, टोल विकास समितिले सिफारिस गरेका योजना कटौती, सहकारी सञ्चालनका नीति नियम, योजना संशोधन, राजस्व सङ्कलन लगायतको बारेमा गुनासो, सुझाव सल्लाह प्रदान गरेका थिए । उक्त गुनासाहरूलाई सम्बोधन गर्दै वडाध्यक्ष जङ्ग बहादुर राईले टोलका सम्पूर्ण योजनाहरूलाई वडामै सम्बोधन गर्न आर्थिक श्रोत नहुने भएकाले अत्यावश्यक र महत्त्वपूर्ण मानेका योजनाहरू पालिका, प्रदेश र सङ्घमा सिफारिस गर्दै आएको उल्लेख गर्नुभयो भने समग्र वडाको विकासका लागी सबैसरोकारवालासगँको हातेमालोको विकल्प नभएको समेत अध्यक्ष राईले बताउनुभयो ।  

वडाध्यक्ष जङ्ग बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको प्रमुख आतिथ्यता, वडा कार्य समितिका पदाधिकारी, वडा स्थित सम्पूर्ण राजनैतीक दलका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य चौकीका प्रमुख, अस्थायी प्रहरी चौकीकाका प्रमुख, ९ वटै टोलका टोल संयोजक, महिला संयम सेविका, सामुदायीक वन उपभोक्ता समिति लगायत सरकारी एवं गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।