ओखलढुंगा / ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षीय पदमबहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।

सोही स्थानको रमिते भिरको ठाडेखोला नजिक खानेपानीको पाइप बनाउने क्रममा लडेर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।

करिब पाँच सय मिटर तर खसेर टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागी गम्भीर घाइते भएको बस्नेतको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

रुम्जाटार अस्पतालमा शव परीक्षण पश्चात् परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।