सुनसरी : वराहक्षेत्र नगरपालिकाको प्रशासनिक केन्द्र चक्रघट्टी स्थित मुनाल चौक-महेन्द्रगेट सडक खण्ड सडक सौन्दर्यीकरण सहित स्तरउनती काम सुरु भएको छ ।

सङ्घीय सरकारले सङ्घीय आयोजना कार्यान्वयन इकाई मोरङ विराटनगर मार्फत ठेक्का प्रक्रियाबाट सङ्घीय सरकारबाट नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र एक करोडबाट विनियोजन समेत गरेको थियो ।

उक्त मुनाल चौक-महेन्द्रगेट सडक खण्ड साइकल लेन सहितको सौन्दर्यकरण र स्तरोन्नतीको काम सुरु भएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

वराहक्षेत्र नगरपालिकालाई नयाँ सहरको रूपमा विकास गर्न वडा नं.६ चक्रघट्टि स्थित मुनाल चौक-महेन्द्रगेट सडक खण्ड सडक सौन्दर्यकरण र स्तरोन्नतीका लागि प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्कीले पहल कदमि गरेको वडाध्यक्ष उद्धव पोखरेलले बताए । 

सौन्दर्यकरण र स्तरोन्नतीका लागि नगरपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचनाहरू हटाएको थियो । चक्रघट्टीको बजार सौन्दर्यीकरण सुरु भएपछि पुरानो चक्रघट्टी बजारको मुहार फेरिने र चक्रघट्टीको मुनाल चौकदेखि महेन्द्र गेटसम्म नाला, सडक सहित सौन्दर्यीकरणको लागि सङ्घीय सरकारको क्रमगत बजेटको एक करोडबाट काम सुरु भएको नगर प्रमुख रमेश कार्कीले बताए ।

सौन्दर्यकरण र स्तरोन्नतीको कार्यले नगरको प्रशासनिक केन्द्र चक्रघट्टी बजार क्षेत्रमा चहलपहल र बजार क्षेत्र राम्रो देखिने वराहक्षेत्र उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष तुलसी श्रेष्ठले बताए ।