काठमाडौं / देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको छ। 

वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ। 

महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिए।“आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ”, उनले भने, “तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन। अन्य भू–भागमा भने मौसम सफा रहनेछ।” वन डेढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन्।