खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट तलब, भत्ता लगायतका आर्थिक सुविधा लिएका ब्यक्तिहरुले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको यो निर्णय शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । गाउँपालिकाको नीति अनुसार आगामि वैशाखबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अनिवार्य सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्नु पर्ने छ । चालू आर्थिक वर्ष २०८०/०८१ को गाउँपालिकाको नीति तथा कार्यक्रममा यो नीति उल्लेख गरिएको थियो । सोही अनुसार चैत ८ गते गाउँकार्यापालिकाको बैठक बसेर नीति कार्यक्रम लागू गर्ने गरी निर्णय गरिएको गाउँपालिकाले सूचनामार्फत जनाबती दिएको छ ।

शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गरेर नपढाए तलब, भत्ता रोक्का हुने प्रमुख प्रशासकीय अधिकृत महेश राईले जारी गरेको सूचनामा भनिएको छ ।

सामुदायिक विद्यालयमा निरन्तर ओरालो लागिरहेको शैक्षिक गुणस्तरलाई सुधार्नको लागि यस्तो नीति अपनाइएको गाउँपालिका उपाध्यक्ष रुपेश राईले बताउनुभयो । 

नीति तथा कार्यक्रममै राखेर अभियान सुरु गरेको गाउँपालिकाले निर्णय लागू हुनेमा विश्वस्त छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक प्राय सबैले सामुदायिक विद्यालयमा पढाउन तयार भएको बताएका छन् ।  ९ वटा वडा रहेको खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक र दुईवटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।