इटहरी/ लामो समय अवरुद्द रहेको कोसी राजमार्ग अन्तरगतको चारकोसी झाडी खण्ड को पिच गर्ने काम शुरु भएको छ। सुस्त गतिमा बन्दै गरेको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ।

‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले लामो समयसम्म सडक निर्माण नगर्दा चौतर्फि आलोचना भएको थियो। सडक नबन्दा तीन बर्षयता सो खण्डमा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाईसकेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीले बिवरण दिएको छ।

सो सडक खण्डमा आर्थिक वर्ष २०७८/७९ मा ५३ वटा दुर्घटना भएकोमा ६ जनाको ज्यान गएको र दुर्घटनामा ८८जना घाइते भएका थिए। यस्तै आर्थिक बर्ष २०७९/८० मा भएका २३वटा दुर्घटनामा तीन जनाको ज्यान गएको र ४३ जना घाइते भएका थिए। चालु आर्थिक वर्ष २०८०/ ८१ को हालसम्म भएका ७ वटा दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।

सो सडकखण्ड भत्काएर लामो समय सम्म निर्माण नगर्दा दुर्घटना बढिरहेको थियो। सो खण्डमा चार लेन सडकमध्ये दुई लेन कालोपत्रे गर्न थालिएको हो। बाँकी भागमा पनि कालोपत्रे गर्ने काम चाँडै हुने बुझिएको छ। धरान–इटहरी खण्डको तरहरास्थित पानीपियादेखि सेउतीपुलसम्मको करिव साढे पाँच किलोमिटर सडक बन्न बाँकी थियो।

sadak 2

सडक नबन्दा शारीरिक कष्टसँगै धुलो धुवाँको प्रदूषण भोग्नुपरेको भन्दै अधिवक्ता रविन्द्रकुमार भगतले उच्च अदालत बिराटनगरमा हालै रिट निवेदन दर्ता गराउनुभएको थियो। रिटको सुनुवाइ गर्दै यही चैत ५ गते उच्च अदालत बिराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले १५ दिनभित्र कारणसहित छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ। 

विसं २०७७ असार मसान्तदेखि २०८० असार मसान्तभित्र काम सक्ने गरी सो सडकखण्ड निर्माणको ठेक्का पाएको ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन।

तस्विर श्रोत : कोसीप्रदेश सभा सदस्य रमेश बस्नेतको फेसबुक