बिराटनगर/ कोसी प्रदेशको राजधानी बिराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत फेला परेका छन्। स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन्।

नोबेल अस्पतालअगाडि एक होटलको कोठामा गएराति शिवशंकर झुण्डिएको अवस्थामा मृत फेला परेका मोरङ प्रहरीले जनाएको छ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकाकुमारी बिराटनगर–४स्थित एक घरमा बिभत्स रुपमा शव फेला परेको थियो।

चन्द्रिकाको शव शुक्रबार दिउँसो बिभत्स अवस्थामा बाथरुममा भेटिएको थियो। मृतक दुवैजना चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ।

शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए। उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिराहाका एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। शिवशंकर एक हप्ता अगाडि मात्रै मलेसियाबाट फर्किएका थिए। घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

-धनकुटा खबरबाट