भोजपुर / भोजपुरको अरुण गाउँपालिका- १ याङपाङ्गमा स्थापना भएको अस्थायी प्रहरी पोष्ट उद्घाटन गरिएको छ । 

नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता तथा डिआइजी भिम ढकाल, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ तथा गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एकसाथ रिवन काटेर प्रहरी पोष्टको उद्घाटन गरेका हुन् । स्थानीय स्तरमा हुने अपराध नियन्त्रण,शान्ति सुरक्षा प्रदान तथा चोरी डकैती न्यूनीकरण गर्ने उदेश्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरेको र सोहि अनुसार तत्कालै देखी कार्य सञ्चालन सुरु गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदिपराज पाठकले बताए ।

यसअघि याङपाङ्गमा प्रहरी चौकी नजिकै नहुँदा कुनै पनि घटनाहरू घट्दा तथा सामाजिक दुव्र्यवहार हुँदा प्रहरीहरू प्याउलीबाट आउनुपर्ने बाध्यता थियो भने स्थानीयले प्रहरी पोष्ट स्थापनाका लागी पटक–पटक सरोकारवालाहरूलाई माग राख्दै आएका थिए ।

गाउँपालिका क्षेत्र भरी शान्ति सुरक्षा, हत्या, हिसाँ, चोरी डकैती, लगायत गैर संवैधानिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए ।

अस्थायी प्रहरी पोष्ट उद्घाटन गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी भिम ढकालले स्थानीयहरूलाई प्रहरीको महत्व बुझाउँदै गाउँघरमा हुने घटनाहरूको सम्भावित कारणहरू मादक पदार्थ, सकारात्मक सोच, वैदेशिक रोजगार, सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक सङ्कट लगायत भएकाले यसबाट सजक हुन सबैलाई सुझाब दिए ।

प्रदेश प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले प्रहरी राज्यको प्रतिनिधिको रुपमा गाउँघरमा उपस्थित हुनेभएकाले समस्या समाधानमा सबैको अपनत्व हुने गरी सहकार्य गर्न सबैमा आग्रह गरे ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जिल्लाभरिको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने क्रममा जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने क्रममा स्थानीयको माग अनुसार याङपाङ्गमा पनि प्रहरी पोष्ट स्थापना गरेको बताए । 

 वडाध्यक्ष राम कुमार तामाङले प्रहरी पोष्ट स्थापनासँगै आगामी दिनमा गाउँघरमा हुने कुनै पनि गैर कानुनी कार्य गर्न सबैलाई थप निरुत्साहित  गर्ने विश्वास व्यक्त गरे ।

अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाल, प्रदेश प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ, उपाध्यक्ष विनिता ढकाल, पालिका पुर्व अध्यक्ष गजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, प्रहरी उपरिक्षक प्रभु ढकाल, ,सशस्त्र प्रहरी बल ४ नं गुल्म प्रमुख जगत बहादुर दुवाल , राष्ट्रिय कलाकार सुर्य चापागाईँ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम न्यौपाने, वडाध्यक्षहरू राम कुमार तामाङ, इन्द्र पुलामी, युवराज ढकाल तथा अन्य जनप्रतिनिधिहरु, प्रहरी लगायत स्थानीयको सहभागिता रहेको थियो ।