इनरुवा / इनरूवामा प्रथम मदन भण्डारी कुस्ती दंगल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । 

आउने चैत ५,६ र ७ गते इनरूवा खेलमैदानमा प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती दंगल प्रतियोगिता २०८० आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । कार्यक्रमको आयोजक नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, सह आयोजक नेपाल राष्ट्रिय युवा संघ इनरूवा र ब्यवस्थापनको जिम्मेवारी नेपाल खेलकुद महासंघ इनरूवाले गरेको कार्यक्रममा नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागितामा कुश्ती दंगल प्रतियोगिता सम्पन्न हुने राष्ट्रिय युवा संघ नेपाल इनरूवाका अध्यक्ष रमेश आचार्यले बताउनुभयो ।

सोमबार इनरूवामा पत्रकार सम्मेलन गरेर आयोजकले उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । कुस्ती खेलप्रति नयाँ पुस्तालाइ आकर्षित गर्न र उत्साह बढाउन कुश्ती दंगल आयोजना गर्न लागिएको आयोजक नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष चिनेस्वर मेहताले बताउनुभयो । तिन दिनसम्म चल्ने कुस्ती प्रतियोगितमा नेपाल र भारतका गरी करिब ७० जना कुस्तीबाजहरुले भाग लिइरहेको नेपाल खेलकुद महासंघ इनरूवा अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

आयोजकका अनुसार नेपालका चर्चित कुस्तीबाज देवा थापा, महाबीर थापा सहित बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाहरुबाट नाम चलेको कुस्तिबाजहरुले भाग लिइरहेका छन । भारतबाट भने दिल्ली, गोरखपुर, हरियाणा, बनारस सहितका कुस्तिबाजहरुले भाग लिने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुने खेलाडीलाई १ लाख १ हजार नगद र दोस्रो हुने खेलाडीलाई नगद ७१ हजार रूपियाँ पुरस्कार  सहित मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । सहभागी खेलाडीलाई दैनिक यातायात खर्च , खान बस्न खर्च व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलमा ७० जना खेलाडी सहभागी हुने भएका छन् । पत्रकार सम्मेलनमा केन्द्रीय श्रम तथा रोजगार बिभाग सदस्य सरोज पोख्रेल, नेपाल खेलकुद महासंघका सचिव बिप्लब घोष, सदस्य सिपि पौडेल, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सचिव बाबुराम शाह लगायतको उपस्थिति रहेको थियो ।