इटहरी/ कोसी प्रदेशमा बिभिन्न कार्यक्रम गरि ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ। संखुवासभाको मादिमा नमूना महिला नगरसभा अभ्यास र इटहरीमा रक्तदानलगायतका कार्यक्रम गरेर कार्यक्रम दिवस मनाईएको हो।

संखुवासभाको मादी नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नमूना महिला नगरसभा अभ्यास गरेको छ। नेपाल महिला स्वास्थ्य स्वयं सेविका संघ मादी र मादी नगरपालिकाले संयुक्त रुपमा कार्यक्रम गरेका हुन्।

मादी नगरपालीकाको कवर्डहलमा संयुक्त रुपमा आयोजित महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नारालाई आत्मसात गर्दै फागुन २४ र २५ गते २ दिवशीय “नमुना महिला नगरसभा अभ्यास” गरिएको हो।  

कार्यक्रमको  दोश्रो दिनको सुरुवाती चरणमा प्रभातफेरी गरिएको थियो। संखुवासभामा पहिलोपटक नमुना नगरसभा अभ्यास गरिएको र कार्यक्रममा महिलालाई लोकतान्त्रिक पद्धति अनुसार नगर सभा सञ्चालन गर्न गराउन र संसदीय अभ्यासको बारेमा ज्ञान दिने उद्देश्यले २दिने नमुना नगर सभा कार्यक्रमको प्रशिक्षण गरिएको प्रशिक्षक सन्ध्या लिंथेपले जानकारी दिनुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा मादी नगरलाई भैतिक विकास मात्र नभएर सामाजिक बिकास सँगै, चेतना बिकास गराउनु मादी नगरको दायित्व रहेको भन्दै मादि नगरपालिकाका नगर प्रमुख जीवन लिंथेपले महिला नेतृत्व बिकास मादी नगरको आवश्यकता रहेको बताउनुभयो । 

मादी नगरपालीकाका सम्पूर्ण भूगोलबाट समन्वय गरेर नमूना नगरसभामा महिलाको सहभागिता थियो । मादी नगरपालिकाका महिला मात्र नभै देशैभरका महिलाहरु नेतृत्वमा आउनु पर्ने मादी नगरपालीका उपप्रमुख सुनिता देवि दाहाल भट्टराईले बताउनुभयो। 

नेपाल महिला स्वास्थ्य स्वयं सेविका मादी नगर उपाध्यक्ष देवी गुरुङको अध्यक्षता भएको कार्यक्रममा मादी नगरपालिकाका उपप्रमुख सुनिता देवि दाहाल भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रममा मादी नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जीमी,  मादी नगरपालीकाका कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, नेपाल महिला स्वास्थ्य स्वयं सेविका मादीनगरका पदाधिकारी, मादी नगरपालिकाका कर्मचारी, मादी नगरपालीकाका ९वटै वडाका प्रतिनिधिहरुको सहभागिता थियो।

इटहरीमा रक्तदान

इटहरीमा ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने नाराका साथ इटहरीका बिभिन्न संघ संस्थाको सहकार्यमा इटहरी नगरपालिका वरपर प्रभातफेरीसहित रक्तदान गरिएको छ। यस अवसरमा अखिल नेपाल महिला संघसहित बिभिन्न संघ संस्थाको सहकार्यमा इटहरी नगरपालिका अगाडि रक्तदान कार्यक्रम पनि गरिएको छ।

अनेमसंघ इटहरी अध्यक्ष कमला निरौलाले रक्तदान जीवनदान भएको भन्दै आवश्यक परेकालाई रेडक्रस सुनसरीबाट संकलित रगत निःशुल्क प्रदान गरिने जनाउनुभयो । 

madi 1

कार्यक्रमकी प्रमुख अतिथि रहनुभएकी नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले महिलाहरू सामाजिकरूपमा पनि सक्रिय भएको र आजको दिनमा श्रमिक महिलाहरूले आन्दोलनको नयाँ चरण आवाज उठाएकोले महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रम अनेमसंघ इटहरी, राष्ट्रिय युवा संघ इटहरी, नेपाल खेलकुद महासंघ इटहरी, अनेरास्ववियु जनता बहुमुखी क्याम्पससहित बिभिन्न संघ संस्थाको सहकार्यमा भएको अनेमसंघ इटहरी इञ्चार्ज मन्दिरा भट्टराईले बताउनुभयो ।

कार्यक्रममा रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा ६० पिन्ट रगत संकलन भएको नेपाल उत्पिडित जातीय मुक्ति समाजका अध्यक्ष डम्बर बराइलीले बताउनुभयो ।

३ जना आर्थिक अवस्था कमजोर भएका श्रमिक महिलाहरु कारखानामा काम गर्ने भगवती सरदार, सफारी चालक लोकमाया तामाङ, मकै पोलेर बेच्ने माला चौधरी लाई नगद, मायाको चिनो, दोसल्ला द्वारा सम्मान गरिएको अनेमसंघ जिल्ला उपाध्यक्ष बिष्णु शर्माले बताउनुभयो।