इटहरी / इटहरी २० तरहरामा हुने तरहरा 10KM Run को तयारी पूरा भएको छ। आयोजक तरहरा रनले बिहीबार पत्रकार सम्मेलन गरी तरहरा 10KM Run को तयारी पूरा भएको जानकारी दिएको हो।

तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले विभिन्न सात विधामा हुने प्रतियोगितामा हालसम्म एक हजार सात सय जनाले आवेदन दिएका जानकारी दिनुभयो।आवेदकहरूले शनिबार (फागुन २६) गते शनिबार तरहरा चौकमा भेला भएर 10KM Run सहभागी बन्न आग्रह गर्नुभयो।

१२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइने, १५ वर्षभन्दा कम उमेरका लाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइने अध्यक्ष शिवु रुम्दालीले जनाउनुभयो।

१६ देखि ३९ वर्षसम्म र ४० देखि माथिका (भेट्रान) लाई १० किलोमिटर दौडमा सहभागी गराइनेछ।  ह्वील चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता गराइनेछ । यस्तै, स–परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहने छ । सबै विधाका गरी कूल एक हजार सात सय धावक सहभागी हुने आयोजकको दाबी छ ।

अध्यक्ष राईका अनुसार खुल्ला दौड प्रतियोगिताका विजेताले (पुरुष महिला दुवै) नगद ३० हजार, उपविजेतालाई नगद २० हजार र तृतीय हुनेलाई नगद १० हजारसहित मेडल प्रदान गरिनेछ । यसैगरी १६ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेतालाई नगद १० हजार, उपविजेतलाई सात हजार र तृतीयलाई पाँच हजार प्रदान गरिनेछ ।

यस्तै, १२ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेता, उपविजेता र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल वितरण गरिनेछ ।  सबै विधाका प्रतियोगितामा पुरुष र महिला दुवैलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल क्षेत्रलाई चलायमान बनाउनका निम्ति र स्वास्थ्यलाई स्फूर्त राख्नका निम्ति दौड आयोजना गरिएको राईले बताउनुभयो। 

खेलका मूल संयोजक मीनकुमार खवासका अनुसार प्रतियोगितामा कूल २५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।उहाँका अनुसार तरहरा चौकदेखि भित्री सडकखण्डमा दौड प्रतियोगिता आयोजना हुनेछ । दौड प्रतियोगितामा ट्राफिक व्यवस्थापनका लागि पनि तयारी पूरा भएको र प्रतियोगिताका लागि एक सय ७० जना स्वयम्सेवक खटिने उहाँले बताउनुभयो। 

दौड अवधिभर आकस्मिक परेको अवस्थामा दुईवटा एम्बुलेन्स तयारीमा रहेको र पाँचजना नर्सले तत्काल प्राथमिक उपचार गर्नसक्ने खवासले बताउनुभयो।