इटहरी/ इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले शिक्षा समितिले यसअघि गरेका सबै निर्णय आगामी शैक्षिक सत्र २०८१ देखि अक्षरस कार्यान्वयन गर्ने दृढता ब्यक्त गर्नुभएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि गर्न उपमहानगरले बुधबार गरेको बृहत शैक्षिक अन्तरक्रियामा पौडेलले यस्तो भन्नुभएको हो।

इटहरी उपमहानगरपालिकाले नगरक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र  योजनालाई सफल बनाउनका लागि गरेको बृहत शैक्षिक अन्तरक्रियामा नगर प्रमुख पौडेलले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै गुणस्तरीय, जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिनुभएको छ। 

इटहरी उपमहानगरले इटहरीका सबै सामुदायीक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुसहित जनप्रतिनिधिहरुसँगको बृहत अन्तरक्रियामा सम्बोधन गर्दै शिक्षा समितिका संयोजक समेत रहनुभएका पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे संकल्प पत्र समेत प्रस्तुत गर्नुभयो।

IMG_20240

उहाँले अन्तरक्रिया गर्नुको उद्देश्य र इटहरी उपमहानगरको शैक्षिक योजना सार्वजनिक गर्दै आगामी शैक्षिक सत्र २०८१ देखि इटहरी उपमहानगर शिक्षा समितिले यसअघि गरेका सबै निर्णय अक्षरस  कार्यान्वयन गर्ने बताउनुभयो।

मेयर पौडेलले शैक्षिक गुणस्तर उकास्न पहिले अभिभावक, विद्यार्थी र शिक्षकहरुको मनोविज्ञान उकास्नुपर्ने भएकाले सामुदायीक तथा निजी विद्यालयहरूका किद्यार्थीहरूको पोसाक एउटै तोकिएको बताउनुभयो। बिद्यालयहरुले शिक्षण सिकाईका साथै गुणस्तरीय, जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने मेयर पौडेलको तर्क छ।

सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षण वृद्धि गर्दै सरकारी विद्यालयलाई नागरीकको भरोसाको केन्द्रको रूपमा बिकास गर्न कक्षा ६सम्म अध्ययनरत बिद्यार्थीलाई दिवा खाजा कार्यक्रम शुरु गरिएको भन्दै मेयर पौडेलले नागरिक स्तरको सल्लाह, सहयोग तथा समन्वयबाट मात्र शिक्षा सुधारका लागि गरिएका निर्णयले सार्थकता पाउने बताउनुभयो।

मेयर पौडेलले सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षकहरु बीच अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिई व्यवहारिक, जीवनोपयोगी र प्राविधिक शिक्षामा फड्को मार्न सकिने भन्दै आगामी दिनहरूमा समेत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारले कुनै कसर बाकी नराख्ने उद्घोष गर्नुभयो।

कार्यक्रममा उप–प्रमुख संगिता चौधरीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउनुभयो।

इटहरी १७ का वडाध्यक्ष प्रभात आचार्यले एउटै विद्यालय पोशाक, शुल्क निर्धारण, जनप्रतिनिधि तथा कर्मचारीका सन्तानहरूलाई सामुदायीक विद्यालयमा पढाउनुपर्ने जानकारी दिनुभयो।