मोरङ : मोरङको पथरीशनिश्चरेमा एक जना बालिकाको सोमबार राति बीभत्स हत्या भएको छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भइ पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लामा टोलीमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको छ ।

पथशनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन् । गए राति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए । घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । 

सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको निर्मम तरिकाले हत्या गरेको जानकारी डीएसपी दाहालले दिए ।

उनका अनुसार घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ । हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी उनले दिए ।

प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको छैन । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग समेत गरेको छ । तर, हालसम्म हत्यामा संलग्नका बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको डीएसपी दाहालले बताए ।

प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीको भनाइ छ । घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाणलगायतलाई केलाएर गहिरो ढंगले घटनाको अनुसन्धान अघि बढाइएको दाहालले बताए ।