काठमाडौं / चितवनको रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । 

मृतक शालिनको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको उल्लेख गरेको बताइएको छ। शालिनको परिवारले उक्त विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टेल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए । 

उनीहरु अहिले पनि प्रहरीको हिरासतमा छन् । शालिन मृत्यु प्रकरणमा उनको परिवारले न्यायका लागि भन्दै अयिभान नै चलाएपछि अहिले सामाजिक सञ्जाल खुबै तातेको छ। सामाजिक सञ्जालमाफर्त विशिष्ट व्यक्तिहरुले समेत घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो सामाजिक सञ्जालमार्फत शालिनको मृत्युले आफूलाई दुःखी तुल्याएको भन्दै वस्तुनिष्ठ छानविन गरेर दोषीमाथि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

त्यसैगरी, नेपाली कांग्रेस र नेकपा (एमाले) ले समेत शालिन मृत्यु प्रकरणको सत्यतथ्य छानविनका लागि सरकारको ध्यानाकार्षण गराएको थियो ।