काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष थता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा को हुन्छ र को हुँदैन ? भनेर अहिले भन्न सकिने अवस्था नभएको टिप्पणी गरेका छन् ।

सत्ता गठबन्धनमा खटपट सुरु भएको र माओवादीले एमालेसँग सहकार्यको तयारी गरेको भन्ने हल्लाबीच ओलीको यस्तो अभिव्यक्ति आएको हो । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने,‘सरकारमा हुँदा होस् वा नहुँदा होस् नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिँने अवस्था छैन । यहाँ संसदमा पनि नभएको पार्टी पनि नभएको एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको छ । संविधानमा कुनै त्यस्तो व्यवस्था छैन । कानूनमा व्यवस्था छैन । के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलका व्यक्ति प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुँने भन्ने पर्दो हो कि ? त्यस्तै लाग्छ । तर, एमाले त्यस्ताभित्र पर्ने होइन ।’