इटहरी/ इटहरीमा अत्याधुनिक विद्युतीय दाहसँस्कार स्थल बन्ने भएको छ। इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतीय शव दाह स्थल निर्माण हुने भएको हो।

इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीस्थित बुढी जमुना मुक्तिघाटमा बिद्युतीय दाहसंस्कार स्थल बन्ने भएको हो।  इटहरीमा बन्न लागेको बिद्युतीय दाहसंस्कार स्थल यहि आर्थिक बर्षमा काम सकिने गरि काम अगाडि बढाईने भएको छ। 

बिहिबार कोसी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती र इटहरी उप–महानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४मा रहेको बुढीजमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको छ। 

दाउरा बिपन्न तथा गरिवहरुलाई महङ्गो पर्ने र समय पनि धेरै लाग्ने भएपछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताउनुभयो। दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भएपनि यसमा भने दाहसंस्कार शुरु गरेको ४५ देखि ६०मिनेटसम्ममा शव जलिसक्नेछ ।

इटहरीमा सुविधा सम्पन्न विद्युतीय शवदाह निर्माण गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले पटकपटक प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आउनुभएको थियो। इटहरी उप–महानगरले घर देखि घाट सम्म स्थानीय सरकार भन्ने नारालाई  सफल बनाउन विद्युतीय शबदाह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने मेयर पौडेलले दाबी गर्नुभयो।

कोसी प्रदेशमै पहिलो पटक इटहरी उप–महानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरि सोको सञ्चालन तथा व्यवस्थापन इटहरी उप–महानगरले नै गर्ने मेयर पौडेलले जानकारी समेत दिनुभयो। अहिले इटहरीको बुढी जमुना मुक्तीघाटमा दैनिक सरदर ५वटा शवको दाहसंस्कार हुने गरेको छ ।

करिब ३ करोड ५०लाख रुपैँयाको लागतमा बन्ने शवदाह स्थलमा कोसी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतीय शवदाह निर्माण शुरु गर्ने गरी दुवै सरकारको संयन्त्र सम्मिलित प्राविधिक समिती समेत गठन गरिएको छ।

-प्रथम पटक सम्पादित