इटहरी / इटहरीको राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कोविदजंग कार्की चयन भएका छन् । 

फागुन ९ गतेको अभिभावकहरूको भेलाले चयन गरेका सञ्चालक समिति सदस्यहरूको आज बसेको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा कार्कीलाई चयन गरेको हो । व्यवस्थापन समितिका सदस्यहरूमा पवित्रा रिजाल, लीला देवी रम्तेल, नारायण प्रसाद पोख्रेल, राज कुमार भण्डारी, गायत्रा देवी दाहाल चयन भएका छन् ।

यता,शिक्षक प्रतिनिधिको रूपमा रोवनराज कार्कीलाई समितिले चयन गरेको राष्ट्रिय मा.विका प्रधानाध्यापक सरण कुमार बस्नेतले जानकारी दिए ।  वडा नम्बर १ का अध्यक्ष रतन कार्की सञ्चालक समितिको पदेन सदस्य हुने व्यवस्था छ । यस्तै विद्यालयका प्रधानाध्यापक समितिको सदस्य सचिवको रूपमा रहने व्यवस्था छ । 

फागुन ८ गते अघिल्लो व्यवस्थापन समितिको कार्यकाल समाप्त भएको थियो । त्यस लगतै फागुन ९ गते बसेको विद्यालयका अभिभावकहरूको भेलाले ४ जना सञ्चालक सदस्यहरूको चयन गरेको थियो । सो ४ सदस्य सञ्चालकहरूले १ महिला सहित २ जना मनोनीत गर्ने व्यवस्था रहेको छ । 

अनुदानमा प्राप्त हुने बसका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको नवनिर्वाचित अध्यक्ष कोविदजंग कार्कीले जानकारी दिए ।  विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि नयाँ योजना सहित काम गर्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।