काठमाडौं / नेपाली कांग्रेसका १ हजार ६३ जना महासमिति सदस्यले हिन्दूराष्ट्र बनाउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् ।

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।

महासमिति बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन् । पूर्वमहामन्त्री डा।शंशाक कोइराला सहित ४२ जना केन्द्रीय सदस्यले त्यसमा हस्ताक्षर गरेका छन् ।

यसअघि २०७५ सालमा ७१७ जना महासमिति सदस्यले यस्तो हस्ताक्षर बुझाएका थिए । त्यो बेला पार्टीले हस्ताक्षर ग्रहण गरेको थिएन । यसपटक भने महासमिति बैठकमा बोल्न समय दिएर हस्ताक्षरको स्वामित्व लिएको छ ।