भोजपुर / भोजपुरका दुई पालिका बीच भएको अन्तरपालिका बैठकमा सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने निर्णय भएको छ ।

भोजपुर सदरमुकामबाट दक्षिणमा रहेका दुई पालिकाहरु आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिका बीच भएको अन्तरपालिका स्तरीय बैठकमा यस्तो निर्णय गरिएको छ । आमचोक गाउँपालिका वडा नम्बर ८ र हतुवागढी गाउँपालिका वडा नम्बर ९ को संगमस्थल एकुवा खोलामा दुवै पालिकाको अन्तर पालिकास्तरीय बैठक भएको हो ।

आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई र हतुगागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई सहितको सहभागितामा भएको बैठकले दुबै पालिका बीच समन्वय र सहकार्यका क्षेत्रको पहिचान गर्ने, प्राकृतिक स्रोत र साधनको परिचालनमा समन्वय गर्दै निकासीजन्य वस्तुको राजस्वका विषयमा नागरिकहरू दोहोरो मारमा नपर्ने गरी आवश्यक पहल गर्ने निर्णय पनि भएको छ ।

एकुवाखोलामा रसुवा कन्स्ट्रक्सन प्रालि गाईघाटले निर्माण गर्दे आई रहेको पक्की पुल आयोजनाको पनि अनुगमन तथा निरीक्षण गरिएको छ । सोक्रममा हतुवागढी तर्फको पिलर बनिसकेको र आमचोक तर्फको पिलरको डन्डीको काम भई रहेको र बैशाखसम्म सवारीसाधन सामान्यरुपमा आवतजावत गर्न सक्ने गरि काम भई रहेको निर्माण कम्पनीले जानकारी गराएको थियो ।

दुई पक्षीय अन्तरपालिका स्तरीय बैठकमा हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता राई, वडा नम्वर ९ का वडाध्यक्ष, प्रशासन, राजस्व शाखा प्रमुख, आमचोक गाउँपालिका उपाध्यक्ष सीता राई, वडा नम्बर ८ र ९ का वडाध्यक्षहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यस्ता अन्तरपालिका स्तरीय बैठकहरुले पालिकाका योजनाहरु सफल बनाउन पनि मद्धत मिल्ने बैठकमा सहभागिहरुले बताउनु भएको छ ।