इटहरी/ इटहरी उप–महानगरपालिकाले पालिकाबाट प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थालेको छ। उप–महानगर र उप-महानगर अन्र्तगतका सबै वडाबाट प्रवाह गर्ने सेवा सजिलै र छिट्टै प्रदान होस भनेर नीतिगत सुधार थालेको हो। 

यसका लागि उप–महानगरको संरचनामा समेत परिवर्तन भएको छ। सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहज ढंगबाट सेवा प्रदान गर्न काम थालेको उप–महानगरपालिकाले जनाएको छ। 

इटहरी उप–महानगरपालिकामा अहिले १० वटा महाशाखा र ४० वटा शाखा छन्। यस्तै इटहरी उप–महानगरपालिकामा २० वटा वडा कार्यालय र १५वटा आधारभूत स्वास्थ्य केन्द्र छन्। 

उपमहानगरले नीतिगत सेवा प्रवाहलाई सहज बनाउन नीतिगत सुधार थालेसँगै सबै महाशाखा, शाखा र वडा कार्यालय समयमा कर्मचारी भेटिन थालेका छन्। उनीहरूले अलमल विना कार्य सम्पादन गर्न थालेको सेवाग्राहीले बताएका छन्। 

नीतिगत सुधारसँगै पछिल्लो समय शाखा तथा महाशाखामा हुने भिडभाड पनि घटेको छ। भिडभाड हटाउने योजनासहित काम शुरु भएपछि महाशाखा र शाखाहरुमा देखिने लाइन हटेको हो।

इटहरी उप–महानगरपालिकामा राजश्व शाखा, घर नक्सा शाखामा सेवाग्राहीको भिड हुने गरेको थियो। अहिले ती शाखामा लाइनबिना नै पालो सिस्टममा बसेर सेवाग्राहीले सेवा पाएको बताएका छन्। 

इटहरी उप–महानगरले अहिले अनलाइन प्रणालीबाट घर नक्सा बनाउने काम शुरु गरेको छ। यो सेवा शुरु भएसँगै कोठा कोठा चहारेर नक्सापास गर्नुपर्ने झन्झट हटेको सेवाग्राहि अनिश राईले बताउनुभयो। 

iii

इटहरी उप–नगरपालिकाले यसै आर्थिक वर्षदेखि १ हजार स्क्वायर फिट भन्दा कम क्षेत्रफल भएको घरको नक्सा समेत निःशुल्क बनाउन थालेको छ। उप–महानगरले इन्जिनियर राखेर निःशुल्क नक्सा पास गराउन थालेपछि सेवाग्राहीलाई सहज भएको राईले बताउनुभयो। ‘एकै ठाउँबाट काम हुन थालेछ’ उहाँले भन्नुभयो, ‘घर नक्सापास गर्न पहिले जस्तो फाइल बोकेर हिँड्नुपर्ने बाध्यता हटेछ।’

इटहरी ९ बिपी चौक घर भएका सेवाग्राहि प्रभात थापाले अहिले सेवा लिन सहज रहेको बताउनुभयो। उपमहानगर परिसरमा भेटिनुभएका थापाले भन्नुभयो, ‘सम्बन्धित कामका लागि आवश्यक कागजपत्र साथमा छ भने छिटै काम सम्पन्न हुनेरहेछ।’

राजश्व शाखा बाट कर तिरेर फर्कँदै गर्नुभएका इटहरी ४ का सेवाग्राही दीपक सुवेदीले धेरैबेर पर्खनु नपरेको बताउनुभयो। ‘पहिले पहिले धेरै समय लाइनमा बसेर कुर्नुपथ्र्याे, तर आज धेरै बेर लागेन छिट्टै कर तिरियो, सजिलै भयो’। उहाँले भन्नुभयो।

उप–महानगर र २० वटै वडा कार्यालय बीच अन्तर समन्वयलाई प्रभावकारी बनाईएको छ। सबै वडाबाट प्रदान गरिने सेवामा पनि सुधार आएको वडा अध्यक्षहरुले बताएका छन्।

वडाबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सबै जनप्रतिनिधि र कर्मचारी लागि परेको इटहरी ९का वडाअध्यक्ष जितेन्द्र थापाले बताउनुभयो।

वडा बाट नहुने कतिपय कामलाई उप–महानगरका शाखा तथा महाशाखामा समन्वय गर्दै सेवाग्राहीलाई सेवा दिने गरेको अध्यक्ष थापाले बताउनुभयो।

IMG_3044

कर्मचारीलाई इ हाजिरी, अनिवार्य पोशाक 

प्रशासन सुधार अन्तर्गत कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ। 

कर्मचारी व्यवस्थापनमा कडाइ गरेसँगै अहिले शत प्रतिशत कर्मचारीहरू कार्यालय पोसाकमा आउने गरेका छन्। बिहान १०ः१५भित्रमा इ हाजिरी नगर्ने कर्मचारी गयल हुन्छन्। 

जुनसुकै तहका कर्मचारीले १० :१५ भित्र कार्यालय प्रवेश गरी, इ हाजिरी मेसिनमा थम्पिङ गरि सक्नुपर्छ । बेलुका ५बजे पुनःथम्पिङ गर्नुपर्छ। कार्यालय समयमा उपस्थित नहुने, पोशाक नलगाउने, बिना जानकारी बिदा बस्ने, सेवाग्राहीको काम नगरी अल्झाउने, फिल्डमा छु भन्ने तर फिल्ड रिपोर्ट नबुझाउने कर्मचारीलाई स्पष्टिकरण सोध्ने गरिएको छ।

आर्थिक वर्ष २०७९। ०८० मा करिब दुई सय बढि स्पष्टिकरण सोधिएको प्रशासन महाशाखाका प्रमुख संजिवकुमार खड्काले जानकारी दिनुभयो। यस्तो स्पष्टिकरण तल्लो तह देखी माथिल्लो तह सम्मका कर्मचारीलाई सोधिएको थियो। स्पष्टिकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उप–महानगरले जानकारी दिएको छ। 

तर चालु आर्थिक वर्ष २०८०।०८१को साउन महिना देखी माघ महिना सम्म ४,५ वटा मात्रै स्पष्टिकरण सोध्नु परेको खड्काले बताउनुभयो। उपमहानगरले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति पनि लिएको छ। केहीदिन अघि उप–महानगरले कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी घोषित गर्दै कार्यालय सहयोगी केशवकुमार कार्कीलाई नगद १ लाख रुपैयाँसहित प्रमाण पत्र प्रदान गर्दै पुरस्कृत गरेको छ। यसले कर्मचारीमा थप सृजनशिल भएर काम गर्ने उत्साह थपिने उपमहानगरले जनाएको छ।

सेवाग्राहीको निवेदन लेखिदिने, चियाकफी निःशुल्क

नागरिकलाई सहज ढंगबाट सेवा प्रदान गर्न नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो। 

पुष महिनादेखि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको मेहताले बताउनुभयो। आफ्ना नागरिकहरूलाई नजिकबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाएको मेहताको भनाई छ। 

सेवा लिन आएका कुनै पनि नागरिक अलमलिनु नपर्ने गरी व्यवस्थापन मिलाइएको उहाँको दाबी छ। सेवाग्राहीको निवेदन लेखिदिने, नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पुर्‍याएर काम गरिदिने गरेको नागरिक सहायता कक्षकी कर्मचारी आरती चौधरीले बताउनुभयो।

आएका निवेदनहरूको दर्ता चलानी गरिदिने तथा सेवाग्राहीहरूको कागजपत्रको निःशुल्क फोटोकपी पनि गरिदिने चौधरीले बताउनुभयो। माघ महिनामा मात्रै एक सय ५०जना भन्दा बढिको निवेदन लेखिदिने तथा अन्य सेवा प्रदान गरेको चौधरीले बताउनुभयो। सेवा लिएका सबैको रेकर्ड पनि राख्ने गरिएको छ। निःशुल्क भएकाले फोटोकपि गर्न धेरै सेवाग्राही आउने चौधरीले सुनाउनुभयो। 

उप–महानगरले सहायता कक्षमा निःशुल्क चिया कफि खुवाउने गरेको छ। सेवालिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफि खान पाउँछन्। सेवाग्राही, कार्यालयका स्टाफ तथा कर्मचारी गरी दैनिक न्यूनतम २सय ५०देखी ३सय कप सम्म चिया कफि खपत हुने गरेको कर्मचारीको भनाई छ।

IMG_3064

नागरिक सहायता कक्षमा स्तनपानको पनि छुट्टै व्यवस्था गरिएको छ। अपाङ्गता भएका सेवाग्राहीका लागि सहायता कक्षका कर्मचारीले नै फाइल सम्बन्धित शाखामा पु¥याइदिने काम गर्छन्। यसबाट अपाङ्गता भएकाहरूले सहज महसुस गरेका छन्। 

सुशासन अभ्यासमा डिजिटल मोनिटरिङ

इटहरी उप–महानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ। नागरिक सहायता कक्षभित्र छुट्टै डिजिटल कक्ष छ। उप–महानगरपालिका अन्तर्गतका ९२वटा कार्यालयमा जोडिएका सिसि क्यामराको लिंक यो डिजिटल कक्षमा जोडिने छ। यहिँबाट सबै कार्यालयको निरिक्षण तथा अनुगमन गर्न सकिनेछ। 

२० वटा वडा कार्यालय, १० वटा महाशाखा, ४० शाखा, १५ आधारभूत स्वास्थ्य केन्द्र ४ वटा स्वास्थ्य चौकी, २ वटा आयुर्वेद अस्पताल र इटहरी अस्पतालमा सिसिक्यामरा जडानको काम भईरहेको  प्रशासन प्रमुख सञ्जिवकुमार खड्काले जानकारी दिनुभयो। यी कार्यालयमा काम गर्ने ५सय ९७जना कर्मचारीहरू अव डिजिटल मोनिटरिङ हुनेछन्। केही ठाउँमा जडान भएको छ भने केही ठाउँमा जडान हुन बाँकी रहेको प्रशासन प्रमुख खड्काले बताउनुभयो। 

अहिले इटहरी अस्पताल, जनता स्कुलको खेल मैदान, बसपार्कलगायत अन्य केहि सार्वजनिक स्थलहरूमा जोडिएका सिसिक्यामराको लिंक डिजिटल कक्षमा जोडिएको छ। सबै ठाउँका सिसिक्यामराको लिंक डिजिटल कक्षमा जोडिएपछि कार्यालयमा बसिबसि अनुगमन तथा निरीक्षण गर्न सकिने उप–महानगरले जनाएको छ। 

डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने बिश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताउनुभयो।