इटहरी / लोपोन्मुख रैथाने खानाहरुको संरक्षणसँगै प्रवद्र्धनका लागि दोस्रो इटहरी परम्परागत खाना महोत्सव हुदै छ । 

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा इटहरी उपमहानगरको संरक्षकत्वमा फाल्गुण १ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरेका थिए । महोत्सवले स्थानीय क्षेत्रका पर्यटनहरूको विकासमा सहयोग हुने नगर प्रमुख पौडेलले बताए ।

विभिन्न जातजातिको खानालाई प्राथमिकतामा राखेर खाना संस्कृतिको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फुड फेष्टिबलको आयोजना गरिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले बताए ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक गतिविधिलाई चलायमान पार्नका लागि पनि महोत्सव आयोजना गरिएको कार्यक्रमका संयोजक उमानाथ दाहालले जानकारी दिए । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने दाहालले बताए ।

त्यस्तै संघका अध्यक्ष तेज बहादुर पुरीले विभिन्न उच्च शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई पनि खाना बनाउने तरिका महोत्सवमा सिकाइने बताए । फुड फेष्टिबलमा इटहरीको १० वटा लेटेष्ट डेस्टिनेशनबारे जानकारी छापिएको पुस्तिाका पनि विमोजन गरिएको थियोे ।

पर्यटन तथा वन मन्त्रालय कोशि प्रदेशको सहयोगमा आयोजित खाना महोत्सवमा स्वपन सुमन, सविन राई, जोन चाम्लिङ, आयूसा श्रेष्ठ, टिका प्रसाईँ, निरज मल्ल ठकुरी, एलिमेन्टस् ब्याण्डलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ ।