केराबारी / केराबारी गाउँपालिकाले केराबारी ३मा प्राङ्गारिक तथा जैविक मल उत्पादन कारखाना स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको छ। केराबारी गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङज्यूको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले केराबारी ८स्थित मच्छिन्द्र माविको स्वामित्वमा रहेको केराबारी ३स्थित पशु फार्म परिसर भित्र कारखाना स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नारायण भुजेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

बैठकले मदनभण्डारी लोकमार्गको सडक क्षेत्राधिकार केराबारी गाउँपालिका क्षेत्रमा सेटव्याकसहित सडक केन्द्रदेखि १०÷१० मिटर गरी २० मिटर कायम गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आवश्यक निर्णयका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै बिराटनगर आँखा अस्पतालसँगको समन्वयमा केराबारी गाउँपालिका अस्पतालमा आँखा तथा कान उपचार सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले केराबारी गाउँपालिका भित्रका बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति गठन सम्वन्धि कार्यविधि २०८० को मस्यौदा पेश गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै केराबारी गाउँपालिकाको प्रध्यानाध्यापक छनौट, नियुक्ति तथा व्यवस्थापन कार्यविधि, २०८० को प्रथम संशोधन प्रस्ताव स्वीकृत गरेको छ।

बैठकले केराबारी गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेशन मिति माघ २५ गते आह्वान गरेको छ। यस्तै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचारसंहिता, २०८० स्वीकृत गरेको छ। यसैगरी गाउँपालिकाको आर्थिक बर्ष २०८०÷ ०८१ को चौमासिक प्रगति समिक्षाको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

यस्तै ठेक्का व्यवस्थापन भईसकेका नदिहरुवाट नदीजन्य पदार्थको उत्खनन् गर्नको लागि अनुगमन तथा नियमन गर्न केराबारी ६का वडाध्यक्ष तथा कार्यपालिका सदस्य उपेन्द्र लुङ्गेली मगरको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ।

magha 15