म्याग्दी । म्याग्दीको बेनीमा ‘ग्याङ फाइट’ हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बिहीबार साँझ बेनी नगरपालिका– ८ क्याम्पस चोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका– १ बेगका घर भई हाल बेनी नगरपालिका– ८ पिपलचोक बस्ने २१ वर्षीय सुशील गर्वुजाको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका थिए । घाइते सुशीलको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले जानकारी दिए । मृतकका साथी बेनी नगरपालिका– ६ अथुङ्गेका अनुराग शाहीको हातमा चोट लागेको छ ।

सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीलाई अर्को समूहले आक्रमण गरेको हो । ‘घटनामा संग्लनको पहिचान भइसकेको छ । उनीहरुको खोजीमा लागेका छौँ । छिट्टै पक्राउ गरेर सत्यतथ्य बाहिर ल्याउँछौँ’, डिएसपी कुवँरले भने । मृतक युवासहितको समूह सवार मोटरसाइकललाई अर्को समूहले घेरेर प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।