इटहरी । राष्ट्रियसभा सदस्य निर्वाचन आज (बिहीबार) हुँदैछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदका लागि आज हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाइएको छ ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९–९ जना कर्मचारीको व्यवस्था गरिएको छ । निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाइ छ । आज बेलुका ७ बजेसम्म मत परिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ ।

‘एक– डेढ घण्टा कागजपत्र, मुचुल्का लगायतको औपचारिकता पुरा गरिन्छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधि बसेर केही छलफल गर्ने काम गर्छन् । त्यसपछि मतगणना सुरु हुन्छ । आज बेलुका ६ ७ बजेसम्ममा नजिता आइसक्ने आयोगको अपेक्षा छ,’ उनले भने ।

पौडेलका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले भोलि राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न पाउने छन् । ५५० जना प्रदेशसभा सदस्य मध्ये एक जनाको निधन भएको छ ।

यस्तै १५०६ जना पालिका प्रमुख उपप्रमुख मध्ये ४ जनाको निधन र ४ जना निलम्बनमा परेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

४ हजार २९ जना सुरक्षाकर्मी मैदानमा

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनको सुरक्षाका लागि जम्मा ४ हजार २९ जना प्रहरी मैदानमा खटाइएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम लुम्बिनी प्रदेशमा सुरक्षाकर्मी खटाइएको पाइन्छ ।

कोशी प्रदेशमा ३ सय ८, मधेस प्रदेशमा २ हजार ८ सय ७३, बागमती प्रदेशमा २ सय ७३, गण्डकी प्रदेशमा १ सय ५४, लुम्बिनी १ सय १८, कर्णाली प्रदेशमा १ सय २८ र सुदूरपश्चिम प्रदेशमा १ सय ६८ जना सुरक्षाकर्मी खटाइएको छ । केन्द्रमा एक सय जना सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको प्रवक्ता ढकालले रातोपाटीलाई बताए ।

५० जना चुनावी प्रतिस्पर्धात्मक मैदानमा

राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५० जना चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । गठबन्धनसँग मुकाबिला गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ ।

सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । यस्तै मधेस प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि ५ जना चुनावी मैदानमा छन् । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन् ।

गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीविरुद्ध एमालेले अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनी मैदानमा पठाएको छ । यता सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले पनि अन्यतर्फ रामशंकर महासेठ प्रतिस्पर्धामा उतारेको छ । मधेस प्रदेशको अन्यतर्फ ढुंगाना, झा र महासेठबिच भिडन्त हुने छ भने महिलातर्फ चौधरी र थारुनीबिच प्रतिस्पर्धा हुनेछ ।

यस्तै बागमती प्रदेशमाका ४ सिटका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपांङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ । यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङगतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

अन्यतर्फ बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र दुवालबिच भिडन्त हुने छ । यस्तै दलिततर्फ रिजाल, विक र नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपाङगतर्फ अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।

गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।

अन्यतर्फ सुवेदी, घर्ती, थापा र चौधरी गरी चार जना भिड्दैछन् भने महिलातर्फ सापकोटा, सिंह र केसीबिच प्रतिस्पर्धा हुने छ । यस्तै कर्णाली प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, दलीततर्फ माओवादीका विष्णुबहादुर विश्वकर्मा र महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल चुनावी मैदानमा छन् । यता एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत विक उम्मेदवार छन् । अन्यतर्फ रोकाय र भट्टको प्रतिस्पर्धा हुने छ भने दलीतर्फ विश्वकर्मा र विकबिच भिडन्त हुने छ । महिलातर्फ मल्ल र शाही भिड्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहोरा र अपाङ्गतर्फ नारायणदत्त भट्ट उम्मेदवार छन् भने महिलातर्फ माओवादीकी रेणु चन्द चुनावी मैदानमा छन् । यस्तै एमालेबाट महिलातर्फ सावित्रा घिमिरे, अपाङ्गतातर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेलले उम्मेदवार छन् । अन्यतर्फ बोहोरा र खरेल भिड्दा महिलातर्फ चन्द र घिमिरेबिच प्रतिस्पर्धा हुने छ । यस्तै अपाङ्गतर्फ भट्ट र जोशी भिड्ने छन् । भोलि हुने निर्वाचनमा ५० जना उम्मेदवारको भाग्य परीक्षा २ हजार ४७ मतदाताको हातमा छ ।