जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए।

सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो। सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो। विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो।