इटहरी/  शिव कुमार सरदार, इटहरी १२ का स्थायी बासिन्दा हुन। उनको टोलमा ड्रेन निर्माणको काम हुँदै छ। सरदार निर्माण उपभोक्ता समितिका सदस्य पनि हुन। निर्माण हुँदै गरेको ड्रेनको गुणस्तरमा उनी चिन्तित छन्। निर्माणमा प्रयोग भएका बालुवा, गिटी, सिमेन्टलगायतका निर्माण सामाग्रीको गुणस्तर कस्तो छ भनी परीक्षण गर्न उनी इटहरी उपमहानगरपालिकाको पूर्वाधार प्रयोगशालामा आएका छन्। 

निर्माणमा प्रयोग भइरहेको सामाग्रीको गुणस्तरको रिपोर्ट लिन आएका हुन, उनी। सरदार परीक्षण प्रक्रियाको बारेमा पनि जानकार छन्। सरदारले भने, ‘सिमेन्ट कति हाल्यो, बालुवा कति हाल्यो, त्यो हेर्नु पर्‍यो । स्याम्पलको रिपोर्ट लिन आएको हो, उहाँहरूले भाँडो दिनुहुन्छ हामी स्याम्पल ल्याइदिन्छौँ, एउटा ७ दिनमा रिपोर्ट आउँछ,अर्को २२ दिनमा आउँछ। आज ७ दिनको रिपोर्ट लिन आएको हुँ। ’Itahari Lab (1)

इटहरी २ मा घरबार विहीन भएका, असहाय, अशक्तहरूलाई संरक्षण गर्दै आएको माया घर नेपालको भवन बन्दै छ। शहरी बिकासको ठेक्कामा भवन बनाउने काम पाथीभरा कन्स्ट्रक्सन प्रा.लि.ले गर्दैछ। बन्दै गरेको भवनको गुणस्तरीय बनाउन ठेकेदार सुवास न्यौपाने सचेत छन्। उनी पनि निर्माण सामाग्रीको परीक्षण रिपोर्ट लिन पूर्वाधार प्रयोगशालामा भेटिए। ठेकेदार न्यौपाने यो भन्दा अघि यस्तो गुणस्तर रिपोर्ट लिन धरान र बिराटनगर धाउने गरेको सुनाए।

इटहरी उपमानगरपालिकाले प्रयोगशाला शुरु गरेपछि उनलाई सजिलो भएको छ। धरान बिराटनगर जानुपर्ने काम स्थानीय स्तरमै इटहरीबाट नै काम हुन थालेपछि सजिलो भएको बताए। ठेकेदार न्यौपानेले भने, ‘शहरी बिकासको ठेक्का हो, माया घरको भवन बनाउँदैछौँ । ल्याब रिपोर्ट लिन आएको हो। पहिले पहिले ल्याब टेस्टका लागि धरान र मनमोहन जान्थ्यौँ । तर अहिले इटहरीले शुरु गरेपछि सजिलो भएको छ।’

Itahari Lab (3)

ल्याब रिपोर्ट पछि मात्रै निर्माण शुरु 

सरदार र न्यौपाने जस्ता थुप्रै सेवाग्राही शुक्रबार निर्माण सामाग्रीको गुणस्तर रिपोर्ट लिन लाइनबद्ध थिए। पछिल्लो २ महिना देखी पूर्वाधार प्रयोगशालामा रिपोर्ट लिन आउनेको भिड नै लाग्न थालेको छ। उपभोक्ता समिति, निर्माण समिति, निजी क्षेत्रका निर्माणको क्षेत्रमा काम गर्नेहरू कन्स्ट्रक्सन प्रा.लि.का मानिसहरू गुणस्तर परीक्षणका लागि इटहरी उपमहानगरको पूर्वाधार प्रयोगशालामा आउने गरेका छन्। 

उपमहानगरले सञ्चालन गर्ने हरेक योजना तथा आयोजनामा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्न उपमहानगरले भौतिक पूर्वाधार प्रयोगशाला स्थापना गरेको हो। निर्माणको क्षेत्रमा प्रयोग हुने बालुवा, गिटी, सिमेन्ट, डन्डीलगायत अन्य बिभिन्न प्रकारका सामाग्रीहरूको परीक्षण गर्न सक्ने गरी आधुनिक औजार उपकरणसहितको भौतिक पूर्वाधार प्रयोगशाला सञ्चालनमा आएको शाखाका प्रमुख तथा इन्जिनियर आशिषराज शर्मा खत्वेले जानकारी दिए।

पूर्वाधार प्रयोगशाला स्थापना भएपछि इटहरी उपमहानगरपालिकाले गर्ने भौतिक निर्माण तथा अन्य योजनाहरू शुरु हुनु भन्दा अगाडि निर्माण सामाग्रीको गुणस्तर परीक्षण गरी अनिवार्य रिपोर्ट लिनुपर्ने इन्जिनियर खत्वेले जानकारी दिए।

कुनैपनि योजनाको सम्झौता भएपछि त्यसमा प्रयोग हुने निर्माण सामाग्री ढुङ्गा, बालुवा, गिटी,डन्डी, सबैको गुणस्तर तोकिएको हुन्छ। सो तोकिएको गुणस्तर अनुसार प्रयोग हुने सामाग्री गुणस्तर छ कि छैन भनेर प्रयोगशालाले परीक्षण गरी रिपोर्ट दिने इन्जिनियर खत्वेले जानकारी दिए।

 Itahari Lab (5)

उपमहानगरका २० वटै वडा तथा नगरबाट हुने सडक, भवन निर्माणमा प्रयोग भईरहेका सामाग्रीको नमुना सङ्कलन गरी परीक्षण गर्ने गरेको उनले सुनाए। 

त्यो सँगै अनुगमन, कुनै गुनासो वा उजुरी आएको अवस्थामा फिल्डमा पुगेर नमुना संकलन गरी परीक्षण गर्ने र गुणस्तर अनुसार छ या छैन भनेर रिपोर्ट दिने काम पनि पूर्वाधार प्रयोगशालाले गर्छ।  

परिक्षण गर्न अन्य जिल्लाबाट पनि 

इटहरीका मात्रै नभएर छिमेकी पालिका तथा जिल्लाहरुबाट पनि परीक्षणका लागि इटहरीमा आउने क्रम शुरु भएको इन्जिनियर खत्वेले जानकारी दिए। 

इन्जिनियर खत्वेले भने, ‘इटहरीमा पूर्वाधार प्रयोगशाला शुरु भएपछि छिमेकी पालिका सुन्दरहरैँचा, बराहक्षेत्र देखी पहाडी जिल्लाका पालिकाहरूबाट पनि गुणस्तर परीक्षणका लागि आउने गरेका छन्। आज मात्रै भोजपुरको हतुवागढिको रिपोर्ट पठाएका छौँ।’

इटहरी निर्माणको क्षेत्रमा गुणस्तर परीक्षणका लागि हब बन्न सक्ने इन्जिनियर शर्मा बताउँछन् । सरकारी तथा निजी क्षेत्रबाट हुने जुनसुकै निर्माण सामाग्रीहरूको गुणस्तर मापन सेवा इटहरीको पूर्वाधार प्रयोगशालाले दिने उनको भनाई छ। 

इन्जिनियर शर्माले भने ‘यो कुरा धेरै सरकारी तथा पालिकाहरूलाई जानकारी छैन। उहाँहरू धरान, बिराटनगर जानुपर्ने अवस्था छ। हामी इटहरीबाट नै गुणस्तरको मापन गरी सहज रूपमा रिपोर्ट दिन्छौँ। टाढा धाउनु अब पर्दैन’।

प्रयोगशालालाई पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट अनुमति लिएर सञ्चालन भएकाले पूर्ण बिश्वसनीय हुने इन्जिनियर शर्मा दाबी गर्छन्।

‘अरू ठाउँहरूले पनि पुल्चोक क्याम्पस बाट नै अनुमति इजाजत लिएर प्रयोगशाला स्थापना गर्ने हो। हामीले पनि पुल्चोकबाट नै अनुमति लिएका छौँ त्यसैले बिश्वसनीय रिपोर्ट दिन्छौँ।’ इन्जिनियर शर्माले विश्वास दिलाए। 

इटहरी उपमहानगरपालिकाले गएको मङ्सिर महिना देखी पूर्वाधार प्रयोगशालाबाट सेवा दिन थालेको हो। हालसम्म २७० जनालाई गुणस्तर परीक्षण रिपोर्ट वितरण गरिसकेको प्रयोगशालाले बताएको छ। पछिल्लो दिनमा यो सङ्ख्या थप बढ्दै गएको प्रयोगशालाले जानकारी दिएको छ। 

अगुमनलाई प्रभावकारी बनाउन खाद्य प्रयोगशाला 

इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको परीक्षण गर्न खाद्य प्रयोगशाला पनि शुरु गरेको छ । विशेष गरी खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न प्रयोगशाला शुरु गरिएको हो। 

बजार अनुगमनमा जाँदा भौतिक रूपमा आँखाले देख्ने बस्तुको मात्रै निरीक्षण वा परीक्षण गरिन्छ। उत्पादन मिति, प्रयोगको म्याद अवधि हेरेर मात्रै राम्रो वा नराम्रो ठम्याइन्छ।

तर आँखाले नदेख्ने खाद्य वस्तुमा गरिएको मिसावट त्यसै नजर अन्दान गर्नुपर्ने अवस्था छ। तर अब इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई प्राथमिकतामा राखेर आँखाले देख्न नसकिने गरी मिसावट गरिएका वस्तुहरूको पनि ल्याबमा परीक्षण गर्नेछ । Itahari Lab (2)

बजार अनुगमनमा जाँदा शंका लागेका बस्तुको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरी गुणस्तर छ या छैन भनी पत्ता लगाउने खाद्य प्रयोगशालाकी खाद्य निरीक्षक अनु अर्यालले जानकारी दिइन्। 

खाद्य प्रयोगशालाले पहिलो चरणमा ठोस तथा तरल खाद्य बस्तुको गुणस्तर परीक्षण गर्ने उनले सुनाइन्। अर्यालले भनिन्, ‘पहिलो चरणमा खाद्य वस्तुको गुणस्तर जाँच गर्नेछौँ, खाद्यवस्तुको तौल,बालुवा ढुङ्गा, मिसावट गरिएका वस्तु,दूध तथा तेल लगायतका तरल पदार्थमा गरिएको मिसावट परीक्षण गर्न सक्छौँ।’

खाद्य प्रयोगशालाले इटहरीका होटलहरुमा पकाएको खानाको गुणस्तर परीक्षण गरी खानेकुरामा अखाद्य वस्तुको मिसावटको बारेमा पनि परीक्षण गर्ने खाद्य निरीक्षक अर्यालले जानकारी दिइन्। 

‘हामी कहाँ धेरै गुनासो आउँछ, नराम्रो तेलमा पकाएको खानेकुरा खुवाइन्छ, तारेको तेलमा पकाइन्छ भन्ने जस्ता गुनासोहरू आउँछन्, अब हामी तेलमा भएको मिसावटका बिषयमा पनि परीक्षण गरी रिपोर्ट दिन्छौँ। ’ अर्यालले भनिन्

‘अन द स्पट’ गुणस्तर परीक्षण मेसिन पनि ल्याउने योजना रहेको उनले बताइन्। यो मेसिन ल्याएपछि बजार अनुगमनमा जाँदा शंका लागेको खाद्य वस्तुको तत्काल परीक्षण गरी तत्काल रिपोर्ट दिन सक्ने उनले जानकारी दिइन।