सर्लाही । काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई अहिले सर्लाही प्रहरीको हिरासतमा छन् । हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई गए राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो ।

मङ्गलवार काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि कारबाहीको लागि काठमाडौं प्रहरीले रातारात बम्जनलाई सर्लाही सदरमुकाम मलङ्गवा पुयाएको हो ।

बुधवार राति १ः३० बजे सर्लाही ल्याइएका बम्जनलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । दुई आरोप लागेका तपस्वी बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा पेश गर्ने तयारी रहेको एसपी धितालले बताएका छन् ।

बम्जनमाथि २०७५ पुस १८ मा २८ वर्षीया रीता बोटेलाई बेपत्ता पारेको आरोप छ । सर्लाहीको साविक कर्मैया गाविस–२ र हाल बागमती नगरपालिका–१२ की बोटेलाई बेपत्ता पारेको भन्दै खोजतलासको लागि आमा सोमनी बोटेले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिएकी थिइन् ।

बाराको हलखोरिया बनबाट बम्जनले बोटे युवतीलाई ‘बेपत्ता’ पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको सर्लाही प्रहरीको भनाइ छ । घटना बारामा भएकाले यस मुद्दामा बम्जनलाई बारा जिल्ला अदालतमा पनि पेश गरिनेछ ।

२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो । बारम्बार यस्तो कुकृत्य गर्नमा बम्जनलाई अन्य दुई जनाले पनि सहयोग गर्ने गरेको निवेदनमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितको नाम ‘क’ राखिएको छ । बम्जनको कब्जाबाट पीडित आफै उम्केर प्रहरीमा निवेदन दिएकी थिइन् । निवेदनपछि प्रहरीले गहन अनुसन्धान गरेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । २०७७ असार १८ मा प्रहरी कार्यालय सर्लाहीले सरकारी वकिलको कार्यालयमार्फत सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका कार्यालय प्रमुख कैलाश दाहालले रामबहादुर बम्जनसहित अन्य दुई जना मतियारमाथि अनुसन्धान भएको बताए । मतियारहरू ज्ञानकुमार बम्जन र जीतबहादुर तामाङसहित मुख्य अभियुक्त रामबहादुर बम्जनमाथि अदालतमा मुद्दा चलाइएको दाहालले जानकारी दिए । मतियारद्वय बम्जन र तामाङ अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन् भने मुख्य अभियुक्त रामबहादुर बम्जन भने फरार रहेका थिए । फरार रहेकै अवस्थामा बम्जन काठमाडौंबाट पक्राउ परेका हुन् ।

यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका मतियार ज्ञानकुमार बम्जनलाई सर्लाही जिल्ला अदालतले गत २०७९ भदौ १० मा एक लाख रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ । यस्तै अर्का मतियार तामाङलाई सर्लाही जिल्ला अदालतले गत २०८० मंसिर ६ मा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तपस्वी रामबहादुर बम्जनलाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण गर्ने मुद्दामा जबरजस्ती करणीसम्बन्धी कानुन नै आकर्षित हुने सरकारी वकिल कार्यालयका प्रमुख दाहालको भनाइ छ । दाहालले उक्त कानुनको दफा २१९ को ३ (ग) बमोजिम ५ लाख जरिवाना र १२ देखि १४ वर्षसम्म कैद सजाय माग दाबी गरिएको जनाए । यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका लागि बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिने र त्यसपछि युवती बेपत्ता पारिएको मुद्दाका लागि बारा जिल्ला अदालतमा पेश गरिने बुझिएको छ ।