इटहरी । बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो ।

अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए ।

पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादव छन् । मोरङकै भाथीगछ पुर्‍याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो ।