काठमाडौँ । एक नाबालिग किशोरीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज (बुधबार) सजाय तोकिंदैछ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । अदालतले पीडित किशोरी गौशाला–२६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौँले लामिछानेलाई आज बलात्कार कसुरमा कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्न लागेको हो ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आजको लागि पेसी तोकिएको थियो । पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ । किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ ।

त्यसको आधारमा लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ । गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो ।

यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो । पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको थियो । उता सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो । सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।