पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन्।विश्वविद्यालय स्थापनाका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिलाई उनले निर्देशन दिएका हुन्।

गत चैतमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तर बाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्।समितिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन्।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषद्बाट हुने नीतिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए।

विश्व विद्यालयले विशेष गरी अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भिक रुपरेखा बनिरहेको बताए। विश्व विद्यालयमा नेपालका सवै धर्म शास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए।

विश्वविद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा.प्रेमबहादुर खत्रीले बताए।

नेपालमुखी अनुसन्धन, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले  बताए।

विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पूरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए।