सिरहा । सिरहाको विष्णुपुरमा १४ वर्षीया एक किशोरी बोर्डिङ स्कुलको होस्टेलमा बलात्कारमा परेको घटना सार्वजनिक भएको छ। विष्णुपुर गाउँपालिका-१ मा रहेको रोज बोर्डिङ स्कूलका शिक्षकबाट कक्षा नौ मा पढ्ने १४ वर्षीया किशोरी बतात्कारमा परेको घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाले पनि किशोरी बलात्कारमा परेको घटना आफ्नो जानकारीमा आएको जनाएको छ। 

पीडित किशोरीकी आमाले उक्त बोर्डिङ स्कुलको होस्टलमा खाना पकाउने काम गर्दै आएकी थिइन्। गएको बिहीबार साँझ खाना पकाउनको लागि आमालाई पालो दिन गएकी १४ वर्षीया किशोरी मध्यराति सोही स्कुलका शिक्षक २५ वर्षिय रञ्जित यादवबाट बलात्कारमा परेकी आफन्तले बताएका छन्। घटनापछि आरोपी शिक्षक यादव फरार भएका छन्।

आमा काम विशेषले घर बस्नुपर्ने भएपछि गाउँकै सरकारी विद्यालयमा कक्षा नौमा पढ्ने किशोरी खाना पकाउन होस्टेलमा गएकी थिइन्। सबैलाई खाना खुवाएर होस्टलकै कोठामा सुतेकी किशोरीलाई मध्यराति शिक्षक यादवले बलात्कार गरेको आरोप लागेको छ। घटना लगत्तै आरोपी शिक्षक यादव फरार भएका छन्।

सार्वजनिक भएको घटनाविवरण अनुसार घटना लगतै बालिकाले राति नै दिदीलाई फोन गरेर आफूमाथि शिक्षक यादवले जबर्जस्ती करणी गरेको जानकारी गराएकी थिइन्। उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरेर घटनाको विषयमा जानकारी गराएकी थिइन्। त्यसपछि विद्यालय सञ्चालक यादव राति नै घरबाट विद्यालय पुगेका थिए। 

विद्यालय पुगेपछि आफूले आरोपी शिक्षक रञ्जितलाई गाली गरेको उनले बताए।  ‘त्यसपछि म बालिकालाई सम्झाई बुझाई गर्नतिर लागेको थिएँ।  त्यतिबेला उनी फरार भएछन्,’ सञ्चालक यादवले भने।घटना सार्वजनिक भएपछि स्कूल सञ्चालक यादवले आफ्नो र विद्यालयको बेइज्जत हुने भन्दै पीडित परिवारलाई मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तले बताइएका छन्।

बलात्कार आरोपी शिक्षक यादव जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिका- १७ पटेर्वाका स्थानीय बासिन्दा हुन्।लक्ष्मीपुरमा डेरामा बस्दै आएका यादव एक महिना पहिलादेखि विद्यालयमै बस्दै आएका थिए। उनकी श्रीमती सुत्केरी हुने अवस्थामा रहेकाले श्रीमतीलाई घरमा छाडेर उनी विद्यालयमै बस्दै आएको पाइएको छ। उनी विज्ञान विषयका शिक्षक हुन्।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राविन्द्र राज पाण्डले घटनाको विषयमा जानकारी आएको बताए। ‘यस विषयमा हामी थप अनुसन्धान गर्दैछौँ,’ उनले भने।