काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको बताए ।

गए राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाज अवतरण भएको थियो । अलिअलि सुराकीको आधारमा हामीले फलो गरेका थियौं,’ उनले भने, ‘राति १२;४५ बजे चेकजाँच गर्दा ज्याकेटमा खल्ती बनाएर छ थान बिस्कुटजस्तो अर्ध ठोस अवस्थाको सुन बरामद गरिएको हो ।’

सुन अर्ध ठोस बनाउनुको कारण मेटल डिटेक्टरमा आवाज आउँदैन कि भन्ने रहेको बुझिएको उनले बताएका छन् । उक्त सुन ६ किलो पाँच सय ६५ ग्राम रहेको उनले बताए । सुन बोक्ने व्यक्ति ३२ वर्षीय इजिप्टका नागरिक सेरिफ मोहम्मद मोहम्मद ल्यासिन रहेको डिआइजी चन्दले बताए । ‘ऊसँगै सुडानी नागरिकलाई पक्राउ गरेका छौं । शंकास्पद भएर पक्रेको हो, उसले संलग्नता छैन त भनिरहेको छ, अनुसन्धानबाट खुल्छ ।’

बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले शनिबार राति साढे ६ किलो सुन बरामद भएको बताए । यसअघि गत शुक्रबार विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो । सुनसहित गोरखाका चन्द्र घलेलाई प्रहरीले पक्राउ गरेको थियो । दुवै दिन सुन एउटै जहाज (फ्लाइ दुबईको एफजेड ५७३) बाट आएको प्रहरीको भनाइ छ ।