इटहरी ।  गायक प्रकाश सपुत विवादमा तानिएका छन्। प्रकाशसहित मोडल जुना विश्वकर्माले नृत्य गरेको गीतको सुटिङ-भिडिओका कारण उनीहरूले आलोचना खेप्नुपरेको हो।

केही महिनाअघि सपुतले ‘कमाउने नि हो, रमाउने नि हो’ गीतको भिडिओ सुटिङ गरेका थिए। जसको छायाङ्कन काठमाडौँको वसन्तपुरमा गरिएको थियो। गीतको एक दृश्यमा प्रकाश र जुना कुमारी घर नजिकैको इनारमाथि उभिएर नाँच्छन्। सोही भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रकाशको आलोचना भइरहेको छ।

कुमारीको मुख धुन र स्नान गराउन इनारबाट पानी प्रयोग गरिने बताउँदै प्रकाशले नेवा:सभ्यता र संस्कृतिमाथि अपमान गरेको उनीहरूको आरोप छ। चर्चित कलाकार भएर हेक्का नराखेको भन्दै गाली खाइरहेका छन्।

खेम सेन्चुरी र सुनिता बुढाको स्वर रहेको ‘कमाउने नि हो, रमाउने नि हो’ झण्डै पाँच महिनाअघि सार्वजनिक भएको थियो। सुटिङको भिडिओमा इनार देखिए पनि सार्वजनिक गीतको भिडिओमा भने इनार देखिँदैन।