इटहरी । जिल्ला अदालत मोरङले सामुहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षकलाई जनही आठ वर्ष कैद सजायको फैसला गरेको छ ।न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई जनही आठ वर्ष कैद सजाय हुने फैसला बुधबार गरेको हो ।

 जबरजस्ती करणीतर्फ जनही सात वर्ष र सामुहिक करणीतर्फ थप एक वर्ष गरेर आठ वर्ष कैद सजायको फैसला भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।उनका अनुसार दुवै जनालाई जनही तीन लाख जरिवाना समेत गरिएको छ । जबरजस्ती करणी मुद्दा चलाइएका उनीहरूलाई अदालतले एक साताअघि दोषी ठहर गरेको थियाे । यसअघि नै कसूरदार ठहर भएका दुवै जनाको सजाय निर्धारण भने बुधबार भएको सुवेदीले बताए ।

 फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्थायी प्रशिक्षक थिए ।

आफूलाई विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता सामुहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो । सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ । पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामूहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन् ।