कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेशसभा बाहिर २ महिनासम्म प्रदर्शन निषेध

  • पूर्वीखबर
  • प्रकाशित मिति: आश्विन १, २०८०

विराटनगर । पहिचान पक्षधरले आन्दोलनको तयारी गरेपछि प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ६ (३ क) अनुसार निषेधित क्षेत्र तोकिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागू हुने गरी दुई महिनासम्म प्रदेशसभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वका क्षेत्रमा प्रदर्शन निषेध गरेका हुन् ।

पछिल्लो समयमा विराटनगरलाई केन्द्रीत गरेर विभिन्न समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहेका छन् । उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज बनाउनका लागि असोज १ गते बिहान ६ बजेदेखि २ महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३क) बमोजिम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको सूचनामा उल्लेख छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved