काठमाडौँ । काठमाडौँको गैह्रीगाउँमा हत्या गरिएको अवस्थामा शनिबार बिहान फेला परेका चार शवको सनाखत भएको छ । धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा दिव्य समिलमा फेला परेका दुई पुरुष र दुई महिलाको शवको सनाखत भएको हो ।

हत्या हुनेमा सोही काठ मिलमा चौकीदार दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन् ।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीनेशराज मैनालीले जानकारी दिएका छन् ।

गए राति करिब १२ बजे घटना भएको अनुमान प्रहरीले गरेको छ । मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । प्रहरीले अहिले घटनास्थल पुगेर मुचुल्कालगायतका काम गरिरहेको छ । यस्तै घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

उक्त दिव्य सस्मिल दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको भएको प्रहरीले जनाएको छ । चार वटै शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।