सुनसरी ।सुनसरीको एक विद्यालयले लामो समयपछि बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो ।

यस विद्यालयमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्तमान मन्त्री अमनलाल मोदी र कोशी प्रदेशका मन्त्री जीवन आचार्यले अध्ययन गरेका थिए ।

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बीपी रौनियारका अनुसार नेपाल सरकारको १ करोड रुपैयाँको अनुदानमा ६ इन्चको पाइपको डिप बोरिङ, स्टोरेज टावर ट्यांक तथा फिल्टरसहितको विस्तारित खानेपानी प्रणालीको स्थापना गरिनेछ ।

खानेपानी प्रणालीको निर्माण अध्यक्ष रौनियार र विद्यालयका प्राचार्य तेजप्रसाद तिमिल्सिनाले पूजाअर्चना गरेपछि सुरु गरिएको थियो । यस प्रणालीले आगामी ५० वर्षसम्म विद्यालयको खानीपानीको माग धान्नसक्ने रौनियारले बताए । विद्यालयलाई आगामी वर्षमा स्नातकोत्तर तहसम्म पुर्याउने योजना छ । रौनियारले यस खानीपानी प्रणालीबाट वरपरका जनताले पनि लाभ लिनसक्ने जानकारी दिए ।