सिंहदरबारको अधिकार गाउँघरमा आइपुगेको अनुभूति आमनागरिकले गर्न थालेका छन् : मुख्यमन्त्री कार्की

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ १५, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औं ‘गणतन्त्र’ दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम नेपाली जनताले यो ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेको तथ्य उल्लेख गरेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । विभिन्न आन्दोलनमा घाइते, अपाङ्गता तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दै मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचनासँगै प्रदेशहरूको नामकरण गरी तीन तहकै दोस्रो आवधिक निर्वाचन सम्पन्न भइसकेको उल्लेख गरेका छन् । विज्ञप्तिमा नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा संघीय संरचनाका तीनै वटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको उल्लेख छ ।

राज्यको पुनःसंरचना र आवधिक निर्वाचनमार्फत विगतमा सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको अनुभूति आमनागरिकले गर्न थालेको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले बताएका छन् । ‘गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको छ । भौतिक विकासतर्फ भएको उल्लेख्य प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयास, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाति, वर्ग र क्षेत्रलाई राज्यको मूलप्रवाहमा ल्याउन भइरहेको प्रयासहरू गणतन्त्रकै प्रतिफल हुन् ।

जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधार निर्माण गरिरहेको छ । पहाडी क्षेत्रको बढ्दो बसाइँसराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पूँजी र दक्षजनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहनाअनुसारको शासकीय सुधार प्रमुख चुनौतिका रूपमा देखापरेको’, मुख्यमन्त्री कार्कीले भनेका छन् । उनले यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेशभित्रका सबै राजनीतिक दल, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनी एक जुट भएर यी साझा चुनौती विरुद्ध लड्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि सबैमा हार्दिक आह्वान गरेका छन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved