काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी आज (सोमबार) रिहाइ हुँदैछन् । घटनामा दोषी ठहर भइ जेल सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरी आज रिहाइ हुने भएका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी दिएसँगै चौधरी रिहाइ हुन लागेका हुन् । हिजो आइतबार नै मन्त्रिपरिषद्को बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिइएको जनाएको छ ।

पछिल्लो ६ वर्ष देखि डिल्लीबजार कारागारमा रहेका चौधरी आज बिहान ८ बजे जेलमुक्त हुन लागेका हुन् । उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्तिका नेता कार्यकर्ता बिहानै डिल्लीबजार कारागारबाहिर भेला भइसकेका छन् । अध्यक्ष रञ्जिता रेशकी पत्नीसमेत हुन् ।

रेशम रिहा हुने निश्चित भएपछि उनको गृहजिल्ला कैलालीबाट नागरिक उन्मुक्तिका नेता–कार्यकर्ता हिजै (आइतबार) काठमाडौं आएका थिए । उनलाई अहिले बिहान ८ बजे रिहा गर्ने तयारी रहेको बताइएको छ । टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

यसैगरी, चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको थियो । गत जेठ २ गते मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको थियो । टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।