खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’ को गुणस्तरहीन ट्यांकी फुटाउन थालिएको छ ।

निर्माणाधीन खानेपानी आयोजनाको ट्यांकी सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर र एक्साभेटर लगाएर ट्यांकी भत्काउन थालेको हो ।

लिफ्टिङ खानेपानी आयोजनाको ट्यांकी निर्माणका क्रममा भएको कमजोरी सच्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगर प्रमुख तीर्थराज भट्टराई बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैंले ट्यांकी फुटाउन थालेका हुन् ।

लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरण लाइनतर्फ पाँचवटा फेरोसिमेन्ट ट्यांकी बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो ट्यांकी कमजोर बनेपछि सबै वितरण लाइनको ट्यांकी आरसिसी ढलान बनाउन निर्देशन दिइएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हीराकाजी महर्जनले बताए ।

विजयखर्कका ७२५ घरधुरीलाई पानीको सुविधा दिने गरी वि.सं. २०७९ साउन ५ गतेदेखि आयोजनाको काम सुरु गरिएको थियो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएससहित रु २९ करोड १३ लाख ९८ हजार ९९० लागतमा सक्ने गरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का लागेको हो ।

वि.सं. २०८१ साउन ४ गतेसम्म सक्नेगरी उक्त निर्माण कम्पनीले वि.सं. २०७९ असार २२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जङ्गल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ ।

ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ (पानीले भिजाउने काम) नगरिएको स्थानीय नरेन्द्र ढकालले बताए । लिफ्टिङ खानेपानी आयोजनाका लागि मेनलाइन र वितरण लाइन गरी ११ वटा आरभिटी ट्यांकी, एउटा ट्रिटमेन्ट प्लान्ट, १०८.१५ किलोमिटर वितरण पाइपलाइन, ८.९९ किलोमिटर ट्रान्समिसन पाइपलाईन, एउटा कार्यालय भवन, पाँचवटा गार्ड हाउस, एउटा सम्प वेललगायतका संरचना बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म आयोजनाको करिब ३३ प्रतिशत काम सकिएको उपभोक्ता समितिले जनाएको छ ।

लिफ्टिङ खानेपानी आयोजनाको मेनलाइनतर्फको ट्यांकीको गुणस्तरमा पनि स्थानीय बासिन्दाले प्रश्न उठाएका छन् । स्थानीयले फलामको काँटीले कोतर्दा ह्वारह्वार्ती ट्यांकीको प्लाष्टर झरेको भिडियो बुधबार मात्रै सामाजिक सञ्जालमा राखेपछि चौतर्फी विरोध भइरहेको छ । लिफ्टिङ खानेपानी आयोजनाको काममा गुणस्तर कायम गराउन आफूहरु निरन्तर लागिपरेको उपभोक्ता समितिका अध्यक्ष सरोज राईले दाबी गरे ।

वितरण लाइनमा २० हजार लिटरको दुई तथा १४ हजार, १२ हजार र दश हजार लिटरको एक–एक वटा ट्यांकी निर्माण गरेर उपभोक्ताको घरघरमा खानेपानीको धारा पुर्‍याउने गरी डिपिआर बनेको छ । मेनलाइनअन्तर्गत साप्सुखोलामा एक लाख लिटर, फूलमती, जुरेथुम्का, बागेढुङ्गा र स्वास्थ्यचौकी डाँडामा २० हजार तथा सहदेवगढीमा ५० हजार लिटरको ट्यांकी निर्माणको काम भइरहेको छ ।