इटहरी / हामी धेरै चाडपर्व मनाउँछौँ। त्यसमध्ये महिलाको महान् पर्व मानिने हरितालिका तिज पनि एक हो। तिजमा आफन्तहरू भेट हुने, भेला हुने र खाने, खुवाउने चलनै छ।

तिजको वेलामा स्वास्थ्यमा ख्याल नगरी खाने चलन छ। यसरी खाँदा हाम्रो स्वास्थ्यमा असर पर्छ। मिठो पाए अलि बढी खाइहाल्ने धेरैको बानी हुन्छ। खाने क्रममा आज एक दिन त हो नि, यति खाएर के हुन्छ र, कति बार्नुजस्ता कुराले मन थाम्न नसक्ने धेरै देखिन्छन्।

हाम्रो शरीरका लागि जति आवश्यक छ, त्यति मात्रामा मात्रै खानुपर्छ। व्रत लिँदा र तिजमा दर खाँदा ध्यान दिनुपर्ने यी महत्वपूर्ण कुराबारे सरला कट्टेलले वीर अस्पतालकी डाक्टर तृष्णा कर्णसँग कुराकानी गरेकी छिन्।

दर खाँदा कस्तो कुरामा ध्यान दिने ?

खाना खाँदा आफ्नो अञ्जुलीको एक अञ्जुली खाना खानुपर्छ। ठूलो मुठीले एक मुठी दाल र दुई अञ्जुली तरकारी खानुपर्छ। हाम्रो तौल र हाइटअनुसार खानेकुरा खाने गर्नुपर्छ। हामीले दैनिक खाने आहारमा हरियो सागपात, गेडागुडी, फलफूल, पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खाने गर्नुपर्छ।

पानी हाम्रो शरीरका लागि नभई नहुने हो। पानी नखाई व्रत बस्दा पानीको कमीले बेहोस हुने समस्या हुन्छ। पानीको कमीले बेहोस भएको छ र लामो समय पानी पाएन भने मृत्यु पनि हुन सक्छ।

पेट टम्म हुने गरी खाना खानु हुँदैन। धेरै खाँदा बान्ता हुने पखाला लाग्ने, अल्छी लाग्ने, निद्रा लाग्ने, कमजोर महसुस हुने हुन्छ। डिप फ्राइड मासु नखाने, सकेसम्म मासु उमालेर खाने, मसला धेरै खानु हुँदैन। खाना नखाए पनि व्रत बस्दा पानी चाहिँ खानैपर्ने हुन्छ। रातो मासु सकेसम्म नखाएको राम्रो हो।

धेरै चिल्लो खानु हुँदैन। चिल्लो, पिरो धेरै हुँदा ग्यास्ट्रिक हुने, प्रेसर बढ्ने, खाना अमन हुने, बान्ता हुने, पचाउन नसक्ने, कमजोर हुने, निद्रा लाग्ने जस्तो हुन्छ। हाम्रो शरीर पनि मेसिनजस्तै हो। त्यसैले खाना हाम्रो शरीरले जति लिन्छ, त्यति मात्र खानुपर्छ।

व्रत बस्दा ध्यान दिनुपर्ने कुरा

व्रत स्वास्थ्यका लागि राम्रो पनि हो। व्रत लिँदा, दिमाग तेज हुन्छ, शरीर हल्का महसुस हुन्छ, दिमागमा पोजेटिभ कुराहरू आउँछन्, शरीरले आराम पाउँछ। काममा फोकस हुनेजस्ता राम्रा पक्षहरू पनि हुन्छन्। तर, शारीरिक रूपमा कमजोर, बिरामी, बालबालिकाहरूले चाहिँ व्रत लिनु हुँदैन।

पानी नखाई व्रत बस्ने चलन छ। यो हाम्रो स्वास्थ्यका लागि खराब हो। तर पनि धेरैले यसलाई बेवास्ता गर्छन्। हाम्रो जीवनमा दैनिक ७ देखि ८ गिलास पानी आवश्यक हुन्छ। यदि त्यति मात्रामा पानी भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, निद्रा लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ।

व्रतको अघिल्लो दिन दर खाँदा व्रतको दिन इनर्जी बचत भएको हुन्छ। तर, पानी नभएपछि हाम्रो शरीरमा ग्लुकोज कम हुन्छ। व्रतको दिन पानी खाएन भने हाम्रो शरीरमा भएको ग्लुकोजको मात्र प्रयोग हुन्छ। मान्छे बेहोस हुन्छ। पानीको कमीले गर्दा बेहोस भएको मान्छेले समयमै पानी पाएन भने मृत्युसमेत हुन सक्छ। हामीले नराम्रो कल्चर छाड्दै राम्रा कुरा मात्र लिनुपर्छ। पानी नखाई व्रत बस्ने भन्ने कुरा एकदम गलत हो। व्रतको दिन पानी, फलफूल खानुपर्छ।

शरीरमा थकान महसुस भएको छ भने व्रत बस्नु हुँदैन। व्रतको दिन काम गर्नु छ भने व्रत बस्नु हुँदैन। व्रत सकिएपछि हाई प्रोटिन भएको खाना खानु हुँदैन। दिनभरि व्रत बस्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ। त्यसैले रेसादार खानेकुरा जस्तो– साग, गाँजर, काँक्रो, लाइट खानाहरू खानुपर्छ।

व्रत बस्नुअगाडि शारीरिक र मानसिक रूपमा तयार रहनुपर्छ। तनाव महसुस भइरहेको छ भने व्रत बस्नु हुँदैन। १८ वर्षभन्दा कम उमेरकाले व्रत बस्नु हुँदैन। यो उमेरका मानिसको शरीर व्रतका लागि परिपक्व हुँदैन। व्रत बस्दा पानी कम हुने, निद्रा लाग्ने, थकाइ लाग्ने, पे्रसर कम हुनेजस्ता समस्या देखा पर्न सक्छन्। नयाँ पत्रिकाबाट