इटहरी/ इटहरी उपमहानगरपालिकाकाले जथाभावी अस्पतालजन्य फोहोर फ्याक्ने बुद्ध साई डाईग्नोष्टिक सेन्टरलाई जरिमाना गरेको छ। इटहरी नगर प्रहरी र वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले गरेको अनुमगनको क्रममा जथाभावी अस्पतालजन्य फोहोर फालेको भेटिएपछि सेन्टरलाई जरिमाना गरेको हो।

अनुगमनको क्रममा डाईग्नोष्टिक सेन्टरले ट्याङग्रा खोला किनारमा अस्पतालजन्य फोहोर(सिरिञ्ज, निडिलआदि) फालेको भेटिएपछि नगर प्रहरीले ५ हजार रुपैँया जरिवाना काटेको छ।

पटक पटक सेन्टरलाई अस्पतालजन्य फोहोर यसरी जथाभावी नफाल्न अनुरोध गरिएको भएपनि खुल्ला रुपमा फालिएको र यसले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भएकोले पहिलो पटक भनेर ५हजार रुपैँया जरिवाना गरेको नगर प्रहरी प्रमुख जेबि राईले बताउनुभयो। अव आईन्दा यस्तो गल्ति दोहोर्‍याए थप जरिवाना गर्ने राईले बताउनुभयो।

सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न अनुरोध गरेर बोर्ड राख्दा समेत अटेर गर्दै बोर्डकै मुनि अस्पतालजन्य फोहोर फालेकाले जरिवाना गर्नु परेको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिका सञ्चालक केशब पौडेलले बताउनुभयो। 

इटहरी उपमहानगरपालिकाले व्यापार, व्यवसाय, घर, पसलबाट निस्किने फोहोर जम्मा गरेर फोहोर उठाउने गाडिमा दिन अनुरोध गर्दै आएको छ। शहर सफा राख्ने अभियानलाई वेवास्था गर्दा उपमहानगर एक्सनमा उत्रिएको हो।